बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई उच्च अदालत पाटनले छोड्न अस्वीकार गरेको छ। ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको झालाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो।
पुर्पक्षका लागि थुनामा रहेका प्रतिक थापालाई पनि अदालतले थुनामै राख्न जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो। थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्। गत बिहीबार न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बेचन झा कारागारमै राख्न आदेश दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो। ‘जिल्ला अदालतले गरेको आदेश ठिक छ, त्यसैलाई कार्यान्वयन गर्नू भनेर आदेश सदर गरेको छ,’ सूचना अधिकारी आचार्यले भने।
झा र थापाले जिल्लाबाट भएको आदेशको पुनर्विचार गर्न भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। गत असार १४ गते झा र थापा पक्राउ परेका थिए। उनीहरू लामो समयसम्म फरार रहँदै आएका थिए। झालाई भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानका आधारमा पक्राउ गरेको हो। तर झाले आफ्नो संलग्नताबारे भने अस्वीकार गर्दै आएका थिए।