हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
रवि लामिछानेलाई हिरासतमा राख्न साताैं पटक म्याद थप
काठमाडाैं । सहकारी ठगी कसूरमा ५६ दिनदेखि प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्याइएको थियो। त्यसयता आज सातौं पटक पाँच दिन म्याद थप गरिएको हो। उनी ५६ दिनदेखि प्रहरी हिरासतमा छन्।
त्यस्तै, पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं र रामकुमार खनाललाई पनि अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको अधिकारीले बताए। उनीहरूलाई पनि लामिछानेसँगै अदालतमा उपस्थित गराइएको थियो।
कात्तिक २ मा काठमाडौंबाट पोखरा ल्याइएका लामिछानेलाई कात्तिक ४ मा पहिलो पटक अदालतमा उपस्थित गराइएको थियो। जिल्ला अदालतले पहिलो पटक पाँच दिनको म्याद दिएको थियो। त्यसपछि कात्तिक ८ गते थप सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
जिल्ला अदालतले तेस्रो पटक गत कात्तिक १६ मा १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो। चौथो पटकमा गत कात्तिक २५ मा १३ दिन म्याद थपिएको थियो।
यसैगरी, पाँचौं पटक मंसीर ९ मा १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। पछिल्लो पटक मंसीर २३ मा जिल्ला अदालतले चार दिनको म्याद थपेको थियो।
आज अदालतमा पेश गर्दा जिल्ला सरकारी वकीलको कार्यालयले अनुसन्धान सकिएको र अभियोगपत्र तयार भइरहेको जिकिर गरेको थियो। त्यसका लागि हिरासतमा राख्ने म्याद थप्न माग गरेको थियो।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा उनलाई पक्राउ गरिएको थियो। उनीमाथि सहकारी ठगी, कीर्ते र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।
संसदीय छानबिन समितिले सूर्यदर्शन लगायत सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रतिवेदन बुझाएको थियो। समितिले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी), प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी लगायतले रकम अपचलन गरेको औंल्याएको थियो।
त्यसअघि सहकारीपीडित कृष्णप्रसाद जैसी लगायतले सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। त्यसका आधारमा प्रहरीले अनुसन्धान गरेर सहकारीका पूर्व सञ्चालक एवं गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी, कैलाशकुमार दर्लामी, कुमार रम्तेल सहित १९ जना विरुद्ध २०८० असोज १८ गते जिल्ला अदालत, कास्कीमा मुद्दा दायर गरेको थियो। त्यसमा लामिछानेलाई विपक्षी बनाइएको थिएन।
त्यसपछि पीडितले २०८० माघ २२ मा पूरक जाहेरी दिएका थिए। यसमा लामिछाने सहित जीबी राई संलग्न १४ वटा संस्थाको कारोबार समेत केलाउनुपर्ने उनीहरूको माग थियो। त्यसै पूरक उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
उनी विरुद्ध सहकारी ठगीमा रुपन्देही, काठमाडौं, चितवन र पर्साबाट पनि पक्राउ पुर्जी जारी भएका छन्। यो अवधिमा लामिछानेलाई काठमाडौं, रुपन्देही, चितवन र पर्सा प्रहरीले बयान लिइसकेका छन्।
यही कसूरमा गत असोज ६ गते पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरिएको थियो। संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्पत्ति शुद्धीकरणको कसूरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद हुन्छ। जस अनुसार आउँदो पुस ६ गतेसम्म अदालतमा मुद्दा दर्ता गराइसक्नुपर्नेछ। पूर्व डीआईजी जोशी असोज ६ गते पक्राउ परेकाले त्यही दिनबाट अनुसन्धानको समय गणना हुन्छ।