पाल्पामा धान उत्पादन बढ्यो

तानसेन । गत वर्षको तुलनामा पाल्पामा यो वर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष ३.६ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

गत वर्ष ३४ हजार ७६२ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष बढेर ३६ हजार आठ मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार गत वर्ष जिल्लाको धान उत्पादकत्व ४.२ मात्र थियो । यो वर्ष बढेर ४.६ पुगेको छ ।

यो वर्ष पर्याप्त वर्षा हुँदा तोरी खेतमा समेत धान खेती भएको थियो । धान खेती हुने क्षेत्रफल बढ्नु मल, बिउ सहज रुपमा उपलब्ध हुनु आदि कारणले उत्पादनमा बृद्धि भएको प्रमुख चौधरीको भनाइ छ । पाल्पामा यो वर्ष आठ हजार ६२० हेक्टर क्षेत्रमा धान खेती भएको थियो । गत वर्ष आठ हजार २०० हेक्टर क्षेत्रमा मात्र खेती भएकोमा यो वर्ष वर्षात्को पानीले खेती हुने क्षेत्र बढेको हो ।

ज्ञान केन्द्रका अनुसार यो वर्ष धान खेतीमा रोगको प्रकोपले कम क्षति गरेको थियो । उन्नत र हाइब्रिड जातका धान खेती बढ्नु, धान बालीका लागि आवश्यक हेरचाह पुग्नुले पनि उत्पादन सहयोग पुगेको केन्द्रका सूचना अधिकारी रामसुरत पालले बताउनुभयो ।

पाल्पाको प्रमुख बालीको रुपमा रहेको धान खेती गर्न कृषि औजार र प्रविधिको पनि प्रयोग बढ्दै गएको छ । कृषियन्त्रको प्रयोगले धान खेती सहज बन्दै गएको किसानको अनुभव छ ।

पछिल्लो समय धान खेतीमा ट्याक्टर, रोलाभेटर, थ्रेसर, धान रोप्ने र काट्ने मेसिनको प्रयोगले धान खेती हुने क्षेत्र खासै घटेको छैन । जिल्लामा अन्य परम्परागत खेती मकै, कोदो, फापर, तोरी, गहुँ खेती हुने क्षेत्र ह्वात्तै घटे पनि धान खेती हुने क्षेत्र घटेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *