हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेपाली महिला क्रिकेटमा नयाँ इतिहास : युवा टोली विश्वकपमा छनोट
काठमाडाैं । युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल यु १९ विश्वकपमा छनोट भएको छ। बुधबार भएको खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको हो।
नेपालले ६ खेलबाट १० अंक जोड्यो। युएईले पनि समान खेलबाट समान अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो। नेपाली महिला टोली पहिलो पटक यू-१९ विश्वकपमा पुगेको हो।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ। नेपालका लागि प्रारम्भिक ब्याटर राना प्रवीनले अविजित ३५ रन बनाइन्। उनले ४२ बलमा एक चौका प्रहार गरिन्। त्यस्तै, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १३ र सावित्री धामीले १२ रन बनाए।
यूएईका लागि मेहक ठाकुरले दुई विकेट लिइन्। अन्य बलरले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले नौ विकेटको क्षतिमा ८३ रन बनाएको थियो। यूएईका लागि कप्तान समैरा धर्निधर्काले ३१, रिनिथा रिजिथाले २०, लभन्या केनी र इन्दुजा नन्दकुमारले १०-१० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि कृस्मा गुरुङले प्रभावशाली बलिङ गरिन्। उनले चार ओभरमा १७ रन खर्चेर चार विकेट लिइन्। त्यस्तै, रिया शर्मा र सीमा केसीले दुई-दुई तथा रचना चौधरीले एक विकेट लिए।
चार देश सम्मिलित प्रतियोगितामा समूह विजेता बनेर नेपाल सन् २०२५ हुने विश्वकपका लागि छनोट भएको हो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो।
त्यस्तै, दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो। तेस्रो खेलमा नेपाल घरेलु टोली यूएईसँग १३ रनले पराजित भएको थियो।
नेपालले चौथो खेलमा थाइल्यान्डलाई १०६ रनले पराजित गरेको थियो। पाँचौं खेलमा कुवेतलाई १६५ रनको फराकिलो अन्तरले हराएको थियो। प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्यान्ड सहभागी थिए।