गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जोशीलाई आज काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । सूर्यदर्शन सहकारी लगायतका विषयमा सोधपुछ गर्न जोशीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

आजै जोशीलाई पोखरा पुर्याइएको छ । अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताउनुभयो । निजलाई सोमबार अदालतमा पेस गरिनेछ ।

उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको हाे।

यसअघि जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो। उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो।

ग्यालेक्सी टेलिभिजन सञ्‍चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ३५ प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए। उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा राखिएकाे थियाे ।

जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो। संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए।

गोर्खा मिडियामा पोखराको सुर्यदर्शनलगायत सहकारीबाट बचत रकम आएको संसदीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष छ।

गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन्।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि कारबाही सिफारिस गरेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *