आईसीसी विश्वकप लिग–२ : गुलशन झाको उत्कृष्ट प्रदर्शका बाबजुद नेपाल ओमनसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो । अलराउन्डर गुलशन झाको शानदार प्रदर्शन भए पनि नेपाललाई जित दिलाउन सकेनन् ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

ओमनका लागि शकिल अहमदले चौका प्रहार गर्दै ओमानलाई जितनजिक पु¥याए भने कलिमउल्लाहले विजयी चौका हाने ।

ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा ४१ रन बनाएर अग्रणी भूमिका खेले । कश्यप प्रजापतीले ३६ रन बनाउँदै ओमानको जितको नींव तयार पारे। नेपालका बलरहरूमा गुलशन झा सबैभन्दा प्रभावकारी साबित भए, जसले १० ओभरमा ४७ रन खर्चेर ५ विकेट लिए । करण केसीले २ विकेट हात पारे भने सन्दीप लामिछाने र आरिफ शेखले समान १–१ विकेट लिए ।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२० रन बनाएको थियो । कप्तान रोहित पौडेलले ६० रनको अर्धशतकीय पारी खेले भने गुलशन झाले ५३ रन बनाए । दुवै खेलाडीको योगदानले नेपाललाई सम्मानजनक स्कोरमा पु¥यायो ।

नेपाल र ओमानसँगै क्यानडा सहभागी यस त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेल क्यानडासँग असोज ६ गते खेल्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *