भोलिदेखि धरहरा चढ्न पाइने, प्रवेश निःशुल्क

काठमाडौं । संविधान दिवसकाे अवसर पारेर भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।

भदाै २७ गतेकाे मन्त्रिपरिषद बैठककाे निर्णय अनुसार काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्न लागिएकाे हाे ।

संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।

परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने बताइएकाे छ ।

परियाेजनाका प्रमुखले मिडियालाइ दिएकाे जानकारी अनुसार अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।

धरहरा चढ्नेहरुले माथि पुग्न र तल झर्न दुई वटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउने छन् । धरहरा चढेकाहरुले करिब १० मिनेट मात्रै यसको बार्दली क्षेत्रमा बिताउन पाउनेछन् । फोटो भिडियो खिच्न समेत दिइने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा आधा काम पनि नसकिंदै हतारिएर धरहराको उद्घाटन गरेका थिए ।

उद्घाटनपछि पनि निर्माण चलिरहेकाले धरहरा चढ्नका लागि खुला गरिएको थिएन । फेरि प्रधानमन्त्री भएपछि ओलीले काम नसकिएपनि धरहरा चढ्न पाउने प्रबन्ध मिलाउने गरी मन्त्रिपरिषदबाट निर्णय गरेका हुन् ।

तर अझै पनि धरहराकाे निर्माण सम्पन्न भएकाे छैन । निर्माणकाे काम चलिरहेकै बेला काठमाडाैं महानगरपालिकाले पार्किङ खुला गरेकाे थियाे । पार्किङ खाेल्दा पनि संघीय सरकार र स्थानीय सरकारबीच टसल देखिएकाे थियाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *