सुत्केरीलाई भाले उपहार

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ११ ले सुत्केरीलाई भाले उपहार दिन थालेको छ । आजदेखि सुत्केरीलाई भाले वितरण सुरु गरिएको वडाध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो । उहाँले आज दुई जना सुत्केरीलाई भाले उपहार दिएर कार्यक्रमको औपचारिक सुरुआत गर्नुभयो ।

हस्नापुर निवासी २१ वर्षीया सुजाता खड्का र बेल्टाकुरा निवासी ३१ वर्षीया लक्ष्मी चौधरीलाई स्थानीय जातको कुखुरा वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रावतले बताउनुभयो । “आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि हामीले सन्देश दिन भाले वितरण थालेका हौँ”, उहाँले भन्नुभयो ।

गर्भवती हुँदा नियमित आठ पटक स्वास्थ्य जाँच गराउनु पर्ने, अस्पतालमै बच्चा जन्माउनु पर्ने, आमाको उमेर २० वर्ष पुगेको हुनुपर्ने सन्देश दिन पनि यो कार्यक्रम सुरुआत गरिएको वडाध्यक्ष रावतको भनाइ छ । यी कार्य नगरेमा यो सुविधा उपलब्ध नहुने उहाँले बताउनुभयो । भाले वितरण कार्यक्रमका लागि वडाले रु एक लाख ५० हजार  बजेट विनियोजन गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *