सिमलताल पहिराे अपडेट : त्रिशूलीमा हराएका थप दुई यात्रु मृत भेटिए, अझै ५५ बेपत्ता

चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका दुई वटा यात्रुवाहक बसमा सवार थप दुई यात्रु मृत भेटिएका छन्।

नारायणगढ-मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका-२९, सिमलतालमा असार २८ गते पहिरोले बगाएका बसका ६२ यात्रुमध्ये अहिलेसम्म सात जना मृत भेटिएका छन्। नवलपरासीको त्रिवेणीमा मृत भेटिएका दुई जना त्रिशूलीमा हराएको बसमा सवार यात्रु रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले बताए।

भरतपुर-२२, पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपतको शव त्रिवेणीमा भेटिएको हो। यीसँगै मृत भेटिएका यात्रुको संख्या सात पुगेको छ।

आइतबारसम्म पाँच जना यात्रु मृत भेटिएका थिए। जसमा भारतको बिहार बेतिया जिल्ला पश्चिम चम्पारणका ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका-१ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुमार माझी र भारतको विहार सीतामढी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह थिए।

सोमबार बिहानसम्म थप चार जना मृत भेटिएका छन्। उनीहरू बसमा सवार यात्रु हुन् वा होइनन् भन्ने पुष्टि हुन बाँकी रहेको एसपी रिमालले बताए।

असार २८ गते बिहान साढे ३ बजे नारायगढ-मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए। बसमा सवार तीन जना यात्रु त्रिशूलीमा पौडिएर जोगिएका थिए।

अन्य हराइरहेका यात्रुको खोजी जारी रहेको एसपी रिमालले बताए। घटनास्थल र यसका आसपासमा बस र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली खटिएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *