बाढीपहिरोले कहाँ कुन राजमार्ग अवरुद्ध?

काठमाडाैं । बाढी र पहिरोले देशभर दर्जनौं राजमार्गमा क्षति पुगेको छ भने २२ राजमार्ग अवरुद्ध बनेका छन्।

सडक विभागका अनुसार पूर्वदेखि पश्चिमसम्मका कैयौं राजमार्गमा क्षति पुगेको छ। कतिपय राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् भने कतिपय पूर्ण रूपमा ठप्प छन्। कतिपय राजमार्ग सञ्चालन गर्न महीना दिन लाग्ने भएको छ।

विभागका अनुसार वैशाखयता २१३ राजमार्गमा क्षति पुगेको छ। जसमध्ये मर्मतसम्भार गरेर ८३ वटा राजमार्ग सञ्चालनमा आएका छन् भने १०८ वटा राजमार्गमा सवारीसाधनको एकतर्फी आवतजावत भइरहेको विभागले जनाएको छ।

बाढी, पहिरो तथा अन्य कारणबाट राजमार्ग बन्द भएको अवस्था हेर्न यहाँ क्लिक गर्नुस्

पछिल्लो केही दिनयताका बाढी र पहिरोले क्षति पुगेका २२ राजमार्ग अवरुद्ध छन्। आज बिहान मात्रै बाढीले तानसेन-रिडी-कोरला राजमार्ग अवरुद्ध बनेको छ। गुल्मीको भदौरे खोलामा राजमार्ग अवरुद्ध भएको विभागले जनाएको छ।

त्यस्तै, कञ्चनपुरको सुडामा पूर्व-पश्चिम राजमार्ग, डोटीको रडुवामा मध्यपहाडी राजमार्ग र तनहुँमा आरुङ खोलामा भिमाद-रामपुर-मित्याल राजमार्ग अवरुद्ध छ। दैलेखको सियालमा कर्णाली राजमार्ग, कालीकोटको मोफ्ला बजार नजीक हुम्ला सडक, दैलेखको तालपोखरी नजीक दैलेख-नाम्चेनाम्ला सडक, कालीकोटको स्मोड र त्यसको नजीकै कर्णाली राजमार्ग अवरुद्ध छन्।

यसैगरी, डोटीको राजपुर क्षेत्रमा दुई ठाउँमा मध्यपहाडी राजमार्ग, बाग्लुङको दब्ल्याङ भीरमा तानसेन-रिडी-कोराला राजमार्ग, धनकुटाको ओख्रेमा भेडेटार-रवि-राँके सडक अवरुद्ध छन्।

विभागका अनुसार बाढी र पहिरोले सिन्धुलीको कुदुलेमा मध्यपहाडी राजमार्ग, कालीकोटको हुम्लमा जुम्ला सडक, सिन्धुपाल्चोकको कोदारीमा अरनिको राजमार्ग, गुल्मीको राक्सेमा तानसेन-रिडी-कोरला सडक र स्याङ्जाको रातोडाँडामा तानसेन-रिडी-कोरला सडक अवरुद्ध छन्। यस्तै, गुल्मीकै कनौटा र बरल्वामा तानसेन-रिडी-कोरला सडक, लमजुङको तिमाङमा डुम्रे-बेंसीशहर-चामे सडक र संखुवासभाको समाटारमा कोशी राजमार्ग अवरुद्ध छन्।

केही ठाउँमा वर्षा कम भएकाले पहिरो पन्छाउने प्रयास भइरहेको विभागले जनाएको छ। कतिपय ठाउँमा भने वर्षा भइरहेकाले सडक खुलाउन केही दिन लाग्ने भएको छ।

पूर्वी नेपालमा झरी कम भए पनि पश्चिमी क्षेत्रमा भने झरी परिरहेको छ। पश्चिम तराईमा लगातारको झरीले कैयौं बस्ती डुबानमा परेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *