बाढीपहिरोले दर्जनौं सडक अवरुद्ध (अपडेट)

काठमाडाैं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले दर्जनौं सडक अवरुद्ध भएका छन्।

वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ भने तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्। अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ।

गए रातिदेखि निरन्तरको वर्षाले सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको हो। स्याङ्जा-वालिङ सडकको भीरकोट-४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

देशभर सडककाे अवस्था के छ ? यहाँ क्लिक गर्नुस् 

त्यस्तै, सिद्धार्थ राजमार्गको वालिङ-१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ। वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ। राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रु अलपत्र परेका छन्।

वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ। डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ। मकवानपुरको इन्द्रसरोवर-२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन। प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ।

यस्तै भीमफेदी-फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। इन्द्रसरोवर-५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी-फाखेल-मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका-३ पाङजुरे, भट्टेडाँडा नजिक पनि पहिरो गएको छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

पहिरोले बेसींशहर-चामे सडक अवरुद्ध भएको छ। यस सडकअन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालयले जनाएको छ।

त्यस्तै, दाङको घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ। बाढीले आज बिहान डाइभर्सन बगाउँदा आवतजावत ठप्प छ। जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन्। महानगरका छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन्। (रासस)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *