रहेनन् वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर

काठमाडौँ । पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा आइतबार निधन भएको छ । उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।

उपचारको क्रममा अस्पतालमै निधन भएको नर्भिक अस्पतालका मिडिया संयोजक आर पी मैनालीले बताए । उनले भने, ‘ आज नै उनको निधन भएको हो ।’ उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएकाले अस्पताल भर्ना गरिएको थियो । उनको उपचारमा न्युरो टोली डा. पंकज चलान डा. राजिव झा, छाती रोग विशेषज्ञ डा. रमेश चोखानी र मिर्गौला रोग विशेषज्ञ आरके अग्रवालको टोली खटिएको थियो ।

तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता थिए । २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए । पञ्चायतकालमा सूर्य चिह्न लिई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए ।

तुलाधरले बहुदल घोषणापछि निरन्तर काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए । तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको भन्दा कम मत पाएका थिए । त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *