कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति

काठमाडाैं । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सरकार बनाउने सहमति भएको छ।

गए राति एमाले अध्यक्ष ओली निवासमा दुई दलका नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको हो। दुई दलबीच भएको सहमति अनुसार पहिला ओली र त्यसपछि देउवा प्रधानमन्त्री बन्नेछन्।

अहिले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बन्ने सहमति भएको बालकोट बैठकमा सहभागी एक नेताले बताए। त्यसपछि चुनावसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ।

त्यस्तै, दुई दलबीच संविधान संशोधन गर्ने विषयमा पनि सहमति भएको छ। समानुपातिक प्रतिनिधित्वका रूपमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभामा लैजाने सहमति बनेको हो। उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरिने संविधान संशोधन गर्न दुवै दल तयार भएका छन्।

यससँगै प्रदेश सरकार गठन, स्थानीय तहको संख्या, प्रदेश सभामा समानुपातिक सांसदको संख्या लगायत विषयमा पुनर्विचार गर्नेबारेमा पनि दुवै दलले सहमति गरेका छन्।

गए राति कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहित देउवा बालकोट पुगेका थिए। त्यसअघि दुवै दलका दोस्रो तहका नेताले ललितपुरको एक होटलमा बसेर सहमतिको खाका तयार गरेका थिए।

गए राति भएको सहमतिलाई दुवै दलले आआफ्नो पार्टीको बैठकबाट अनुमोदन गराएर आज हस्ताक्षर गर्ने भएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *