हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
१४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप
सरकारले सन् २०१० मै नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको हो । तर यसको जोखिम कायमै छ । भारतले पोलियो निवारण नगरेसम्म र अन्र्तराष्ट्रिय रुपमै पोलियो देखिन नछाडेसम्म नेपाललाई पोलियो उन्मुलन गर्न चुनौती छ ।
सम्झना महर्जन
काठमाडौं । सरकारले देशभरका साढे १४ लाख बालबालिकालाई पोलियो खोप दिन सुरु गरेको छ । जेठ १३ देखि सुरु भएको खोप अभियान अन्तर्गत २६ गतेसम्म देशभरका ८ वर्षसम्मका बालबालिकालाई विद्यालयमा खोप केन्द्र राखेर पोलियोविरुद्धको एक मात्रा खोप लगाउन लागिएको छ ।
सामान्यतया नियमित खोप अभियानमा ५ वर्षसम्मका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने गरिएको छ । तर, २०७३ सालदेखि २०७५ सम्म विश्वभर नै पोलियोविरुद्धको खोपको अभाव भएपछि, त्यतिबेला नेपालका १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिका खोप लिन छुटेका थिए ।
हाल उनीहरुको उमेर ६ देखि ८ वर्षको बिचमा छ । त्यतिबेला छुटेका सबै बालबालिकालाई यो अभियानमा खोप लगाइने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखा प्रमुख अभियान गौतमले जानकारी दिनुभयो । त्यतिबेला खोप लगाउन नपाएका बालबालिका पोलियोको उच्च जोखिम रहिरहने भएकाले अहिले उनीहरुलाई लक्षित गरेर आइपीभी (इनएक्टिभेटेड पोलियो भाइरस) खोप दिन लागिएको उहाँको भनाइ छ ।
नयाँ खोप नीति अनुसार, खोप दिन छुटेका बालबालिकालाई खोप लगाउने उमेर नाघेपनि दिने उल्लेख छ । नियमित खोप दिँदा पनि हप्ता वा महिना नाघेपछि समेत खोप दिने गरिएको छ । अहिले पोलियो खोप लगाउन छुटेका तर ८ बर्ष ननाघेकालाई खोप दिइनेछ ।
गाभीबाट १६ लाख खोप निःशुल्क
यसपालिको खोप अभियानका लागि अन्तर्राष्ट्रिय संस्था गाभीले १६ लाख खोप उपलब्ध गराएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । ७५ प्रतिशत खोप गाभीकै सहयोग र २५ प्रतिशत नेपाल सरकारले मिलेर करीब २५ करोड रुपैयाँको बजेटमा यो खोप अभियान सञ्चालन गरिएको छ ।
देशभरका ३४ हजारभन्दा बढी विद्यालयमा ६० हजारभन्दा बढी महिला स्वास्थ्यस्वंयसेवी मार्फत खोप दिन लागिएको छ । विद्यालय नगएका बालबालिकाले पनि नजिकको विद्यालयमा गएर खोप लिन पाउँछन् ।
विश्वका अरु मुलुकमा बालबालिकाले २६ प्रकारका खोप पाउने गरेका छन् । तर, नेपालमा १२ प्रकारका मात्रै खोप बालबालिकाले पाउने गरेका छन । विशेषगरी कामको खोजिमा बसाईंसराई गरेर शहरी क्षेत्रमा आउने र इटा भट्टामा काम गर्ने अभिभावकका बालबालिका नियमित खोप अभियानमा छुट्ने गरेका छन् ।
यसरी छुटेका बालबालिका करिब ४ प्रतिशत छन् । नियमित खोप अभियानमा सहभागि भएका बालबालिका बाहेककालाई पोलियो पिरुद्धको खोप दिन लागिएको हो । जुनसुकै उमेर समुहकालाई पोलियो लाग्ने सम्भावना रहेपनि ५ वर्षमुनिका बालबालिका यसको जोखिममा अत्यधिक रहने बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।
जोखिम कायमै
सरकारले सन् २०१० मै नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको हो । तर यसको जोखिम कायमै छ । भारतले पोलियो निवारण नगरेसम्म र अन्र्तराष्ट्रिय रुपमै पोलियो देखिन नछाडेसम्म नेपाललाई पोलियो उन्मुलन गर्न चुनौती रहने परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेक लालको भनाइ छ । पोलियोका नयाँ भाइरसहरु सन् २०२२ यता क्यानाडा, इजरायल र अफ्रिकामा बढी पाइएको छ ।
ती मुलुकमा आवतजावत भइरहने भएकोले पनि पोलियोको जोखिम कायमै रहने, खोप शाखा प्रमुख डा. गौतमको भनाइ छ । नेपालमा पोलियोका विरामी सन् पछिल्लो पटक वि.सं. २०६७ साल असोज १४ गते रौतहटमा देखिएको थियो । सन् २०२६ सम्ममा पोलियो उन्मुलन गर्ने विश्वव्यापी लक्ष्य छ । तर, अहिलेसम्ममा विश्वव्यापी लक्ष्य तीनचार पटक पछि धकेलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले सन् १९७७ मा अन्र्तराष्ट्रियस्तरमा विफर उन्मुलन घोषणा गरेपछि पोलियो लगायतका रोग पनि उन्मुलन गर्न सकिन्छ भन्ने विश्वास जागेको नेपाल पोलियो प्लसका अध्यक्ष रत्नमान शाक्यले बताउनुभयो ।
विश्वमा सन् १९५५ मा पहिलो पटक पोलियोविरुद्धको खोपको विकास भएको थियो । त्यो बेला टीओपीभी सुईबाट खोप दिन थालिएकोमा पछि मुखबाट खाने ओपीभी दिने गरिएको थियो । हाल फेरि आईपीभी खोप दिन थालिएको हो । नेपालमा २०७१ सालदेखि आईपीभी खोप दिन थालिएको हो । पोलियोका पीवान, पीटू र पीथ्री तीनै प्रकारका भाइरस रोकथामका लागि हाल आईपीभी खोप सुईबाट दिने गरिएको छ ।
के हो पोलियो रोग ?
यो रोग पोलियो भाइरसबाट हुने संक्रामक रोग हो । पोलियो भाइरस पीवान, पीटू र पीथ्री गरी तीन प्रकारका हुन्छन् । यी तीनै प्रकारका भाइरसबाट पोलियो रोग लाग्नसक्छ । पोलियो भाइरसबाट संक्रमण भएका व्यक्तिलाई पक्षघात हुनसक्छ । पक्षघात भइसकेपछि निको हँुदैन । पोलियोबाट हुने पक्षघातको हालसम्म कुनै निश्चित औषधि उपचारको विकास भएको छैन । यो रोग कुनै पनि उमेरका मानिसलाई हुनसक्छ । पोलियोविरुद्धको खोप लगाउनु नै यसबाट जोगिने सबभन्दा उत्तम र प्रभावकारी उपाय हो ।