देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक : के गर्‍यो निर्णय ?

काठमाडाैं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकार गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको छ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार संसद् पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिने रणनीतिमा रहेको ठहर गरेको हो।  कांग्रेसले संसदीय छानबिन समिति गठन नगरेमा यो विषयलाई संसद्‌बाट सडकमा ल्याउने चेतावनी समेत दिएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेसहित सहकारी ठगी प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। यसै विषयमा छलफल गर्न शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसेको हो।

बैठकपछि सञ्चारकर्मीसँगै कुराकानी गर्दै कांग्रेस महामन्त्री गगन थापाले सरकार संसद् चल्न पनि नदिने र छानबिन समिति पनि नबनाउनेतिर लागेको निष्कर्ष निकालेको बताए। “बैठकले संसद् पनि चल्न नदिने र छानबिन समिति नबनाउनेतिर सरकार उद्धत रहेको निष्कर्ष निकालेको छ,” थापाले भने।

अहिलेसम्म देखिएका तथ्य र प्रमाणका आधारमा गृहमन्त्री लामिछानेले सहकारी ठगी गरेको देखिने थापाको भनाइ थियो। “रवि लामिछाने जीबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न हुनुहुन्थ्यो भन्ने तथ्य र प्रमाणका आधारमा कांग्रेसको दाबी छ,” थापाले भने, “यसलाई गलत सावित गर्न सत्तारुढ दल र सरकारलाई चुनौति दिन्छौं।”

अहिलेसम्म प्रहरी, सीआईबीको अनुसन्धान, जिल्ला अदालतमा दर्ता भएको अभियोजनपत्र, पोखरा महानगरपालिकाले गरेको छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न रहेको देखाउने उनको जिकिर थियो। “गृहमन्त्री भएर बसिरहँदाखेरी जे जे कुरा लुकाउनुपर्ने, तथ्य प्रमाण तोडमतोड गुर्नपर्ने हो, गरिसक्नुभयो। त्यसैले अब गृहमन्त्रीको राजीनामा पनि चाहिँदैन,” थापाले भने, “अनुसन्धान प्रतिवेदन लुकाइको छ, त्यसैले अहिले संसदीय छानबिन समितिसँग डराइरहनुभएको छ।”

गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न भएका प्रमाण खोज्न सरकारी निकायकै प्रतिवेदन केलाउँदा पुग्ने थापाको भनाइ थियो। अब संसदीय छानबिन विना सरकारले पेलेर जान खोजेमा यो विषय सडकमा ल्याइनले उनले बताए।

“संसदीय छानबिन समिति नबनाइकन, पेलपाल गरेर नीति तथा कार्यक्रम ल्याउँछौं, बजेट ल्याउँछौं भनेर सोच्नु भएको छ भने अहिलेसम्म यो संसद्भित्र छ, अब यो विषय संसद्भित्र मात्रै सीमित रहँदैन। संसद्बाट सडकमा आउँछ,” थापाले भने।

संसदीय छानबिन समितिको माग नछोड्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष छ। यसमा थप शसक्त रुपमा विरोधका कार्यक्रम तय गर्न संसदीय समितिको बैठक बोलाइएको छ। सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको थापाले बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *