राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनु भएको छ ।

एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उहाँले राजनीतिक अस्थिरताले  विकासका काम अगाडि बढ्न नसकेको बताउनुभएको हो ।

“विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन् । यो जरुरी छैन भन्ठान्छन् । यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,” उहाँले भन्नुभयो, “तर पनि हामीले काम गरिरहेका छौँ । अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ ।” उहाँले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने जानकारी पनि दिनुभयो । “पूर्वाधार विकास होइन । विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ,” उहाँले भन्नुभयो ।

उहाँले पूर्वाधारको विकास हुँदा  कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताउनुभयो ।  नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उहाँले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न  अभियान सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पूँजीगत खर्चलाई सुधार गर्नुपर्ने बताउनुहुँदै पूँजीगत खर्चको प्रभावकारीता ल्याउन  चुनौती रहेको बताउनुभयो । उहाँले राष्ट्रिय योजना आयोगले लगेको कुरालाई संसद्ले पारित गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले विकासको सवालमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पार्टीका नेताले पार्टीको कुरा मात्र नभई पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्न सके मुलुकको विकास हुने बताउनुभयो । उहाँले आफू भर्खरै मन्त्री भएकाले अब कामको गतिलाई अघि बढाउने र भौतिक क्षेत्रमा राम्रो प्रगति गर्ने बताउनुभयो । एमालेका केन्द्रीय सदस्य विभागका प्रमुख कृष्णवहादुर केसीले सडक, यातायातका क्षेत्रमा विज्ञसँगको छलफलबाट आएका सुझाव पार्टीलाई बुझाउने बताउनुभयो ।

विभागका सचिव सुशील ज्ञवालीले राजनीतिक दृष्टिकोण स्पष्ट भएमात्र विकास हुने धारणा राख्नुभयो । राजनीतिक रुपमा अस्थिरता आए पनि दृष्टिकोणमा परिवर्तन नभएपछि मुलुकको विकास हुने उहाँको भनाइ छ । कार्यक्रममा सडक, रेल तथा जल यातायातका क्षेत्रमा डा चन्द्रवहादुर श्रेष्ठ र गुरु भट्टराई, निर्माण व्यवसाय तथा इन्जिनियरिङमा सुशील ज्ञवाली र ओम शर्मा तथा यातायात क्षेत्रमा दधि खरेल र श्रीराम ढकालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *