अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला भएको छ । रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको अदालतका श्रेस्तेदार उद्वव ढोडारीले बताए । जन्मकैदको सजाय हुनेहरूमा मोहम्मद अफताब आलम, उनका भाइ ममताभ आलम, शेष सेराज र बद्री सहनी रहेका छन् ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा हालेर हत्या गरेको आरोपमा उनीहरूलाई अदालतले सजाय सुनाएको हो ।

उनीहरु विरुद्ध २०७६ साल कात्तिक १८ गते विस्फोटक पदार्थ ‘बम’ समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । सो मुद्दामा कुल ११ जना प्रतिवादी रहेकोमा चार जनालाई जन्मकैदको सजाय तोकिएको हो । एक जनालाई भने अदालतले सफाइ दिएको छ । श्रेस्तेदार ढोडारीका अनुसार मुक्ति साहले सफाइ पाएका हुन् ।

यसैगरी ६ जनाको हकमा मुद्दा मुल्तबीमा राखिएको छ । मुद्दा मुल्तबी हुनेहरूमा महमद मोबिल, शेष फजले हग, शेष भदै, सगिर आलम, गौरी शंकर शाह, शेष मलाकार रहेका छन् ।

गत वैशाख १० गते जिल्ला अदालतमा चलिरहेको बहस बिहीबार सकिएसँगै उक्त फैसला आएको हो। न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा वादीको तर्फबाट तीन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जना कानून व्यावसायीहरुले बहस गरेका थिए ।

प्रतिवादीको तर्फबाट गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, पूर्व न्यायाधीश एवम् वरिष्ठ अधिवक्ता साबिर हुसैन, फताब आलम, मजरुल हक, लालबाबु यादव सहितका कानून व्यवसायीले बहस गरेका थिए ।

पीडितको तर्फबाट कानून व्यावसायीहरु पुष्पराज पौडेल, विकास बस्नेत र जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरेका थिए । २०६४ सालको संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो ।

पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप वादी पक्षहरुको थियो । सोही मुद्दाको अन्तिम किनारा लगाउन पटक पटक पेशी सर्दै आएकोमा बिहीबार भने अन्तिम फैसला भएको हो ।

कांग्रेस नेता आलम अहिले नख्खु कारागारमा कैदी बन्दीका रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *