कतारका राजा थानी नेपालमा

काठमाडाैं । कतारका अमीर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमणको सिलसिलामा आज अपराह्न काठमाडौं आइपुगेका छन्।

अमीर अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायत विमानस्थल पुगेका थिए।

बाङ्लादेशको राजकीय भ्रमण सम्पन्न गरी उनी आज अपराह्न विशेष विमानबाट काठमाडौं आइपुगेका हुन्।

अल थानीले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै, राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना पनि गर्दै छन्।

भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकूद र शिक्षा तथा वैज्ञानिक अनुसन्धान लगायत विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी हुने जनाइएको छ। नेपाल र कतारबीच २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमीरको यो पहिलो नेपाल भ्रमण हो।

नेपालले ११ जुलाई २००० मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास अगस्ट २०११ मा स्थापना गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *