इन्डियन प्रिमियर लिग : घरेलु मैदान मै लखनउसँग बेंगलुरु पराजित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (IPL) मा लखनउ सुपर जायन्ट्स (LSG)ले रोयल च्यालेन्जर्स बैंगलोर (RCB) लाई घरेलु मैदान मै पराजित गरेको छ । बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा पाहुना टाेली लखनउ सुपर जाइन्ट्सले तेज बलर मयंक यादवको घातक बलिङको मद्दतले रोयल च्यालेन्जर्स बैंगलोरलाई २८ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले राम्रो सुरुवात गरेको थियो । क्विन्टन डी कक र केएल राहुलबीच पहिलो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो । राहुल २० रन बनाएर आउट भए । लखनउ सुपर जाइन्ट्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १८२ रनको लक्ष्य दिएको थियो । जसको जवाफमा आरसीबी १९ दशमलव ३ ओभरमा १५३ रनमा अल आउट भयो । आरसीबीका लागि इम्प्याक्ट खेलाडी महिपाल लोमररले उत्कृष्ट ब्याटिङ गर्दै १३ बलमा ३३ रन बनाए । यस क्रममा उनले तीन छक्का र तीन चौका प्रहार गरे । उनी बाहेक रजत पाटीदारले २१ बलमा २९ रन र विराट कोहलीले १६ बलमा २२ रनको योगदान दिए ।

लखनउ सुपर जायन्ट्सका लागि मयंक यादवले चार ओभरमा १४ रन दिएर तीन विकेट लिए । त्यस्तै नवीन उल हकले २, मार्कस स्टोइनिस, यश ठाकुर, रवि बिश्नोई र एम सिद्धार्थले एक एक विकेट लिए । आरसीबीको यो लगातार दोस्रो हार हो। LSG को लगातार दोस्रो जित।

यसअघि लखनउले २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो । टोलीका उपकप्तान निकोलस पुरनले २१ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४० रनको इनिङ खेले । लखनउले अन्तिम ५ ओभरमा दुई विकेट गुमाएर ५० रन बनाएको थियो । जसमा १९ औं ओभरमा २० रन र २० औं ओभरमा १३ रन जाेड्याे । पुरनका अलावा डी ककले ८१ रनको इनिङ खेले । बैंगलोरका लागि म्याक्सवेलले दुई विकेट लिए ।

चार खेलमा बेंगलुरुको यो तेस्रो हार हो। योसँगै लखनउको तीन खेलमा यो लगातार दोस्रो जित हो। यो जितसँगै लखनउको टोली चार अंकसहित अंक तालिकाको चौथो स्थानमा पुगेको छ । योसँगै बेंगलुरुको टोली मुम्बईभन्दा एक स्थान माथि नवौं स्थानमा छ । आरसीबीको नाममा एक अनावश्यक कीर्तिमान पनि थपिएको छ । यो सिजन अलआउट हुने पहिलो टोली बनेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *