मिटरब्याज जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो ।

अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् ।

सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । भूमि समस्या समाधानका लागि अर्को आयोग गठन गर्नुपर्ने भएकाले वर्तमान आयोग विघटन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘आयोग गठन आदेश, नियमावलीमा भएको व्यवस्थाअनुसार अर्को आयोग पुनःगठन गर्न वर्तमान भूमि आयोग विघटनको निर्णय भएको हो,’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सम्भवतः एक साताभित्र पुनः अर्को भूमि आयोग गठन हुन्छ ।’

सदाका लागि आयोग विघटन नगरिएको उनले स्पष्ट पारिन् । भूमिसम्बन्धी समस्या समाधान गर्न अब गठन हुने आयोगले प्रभावकारीरूपमा काम गर्ने उनको भनाइ छ । मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई यही चैत ११ देखि १९ गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्न स्वीकृति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *