स्थानीय तहले चक्रपथ बनाउँदै

बलेवा । बागलुङमा एक नगरपालिका र दुई गाउँपालिकाले चक्रपथ निर्माणको काम थालेका छन् ।
पर्यटन र कृषि उत्पादनलाई आफ्नो प्रमुख स्रोतका रुपमा राखेका गलकोट नगरपालिका तथा ताराखोला र काठेखोला गाउँपालिकाले संयुक्त रुपमा आपसमा सडक जोड्ने गरी चक्रपथ निर्माणको काम थालेका हुन् । पर्यटकीय स्थानको पहिचान बढाउने र छिमेकी स्थानीय तह जोड्नका लागि चक्रपथको काम थालिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले बताउनुभयो । तीन वटै स्थानीय तहले ग्रामीण र कच्ची सडकको स्तरोन्नतिमार्फत चक्रपथको रुप दिने गरी काम अगाडि बढाएका छन् । सो चक्रपथका लागि केही स्थानमा मात्र नयाँ मार्ग खोल्नुपर्ने र धेरै स्थानमा पुरानै सडकको स्तरोन्नति गरिने बताइएको छ ।
गलकोटको हरिचौर, काठेखोलाको बिहुँको रिजालचोकदेखि ताराखोला र ताराखोला–१ माझखर्क जोड्ने चक्रपथ बनाइने भएको छ । ती स्थानीय तहले प्रदेश तथा केन्द्र सरकारको समेत सहयोग लिने जनाएका छन् । सोका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख विनियोजन गरेको छ । सडक विभागले ताराखोलातर्फ र माझखर्कतर्फ रु एक एक करोड विनियोजन गरेको छ । चालू आवका लागि ताराखोला गाउँपालिकाले रु ३५ लाख विनियोजन गरेको सो सडकलाई १२ वर्षीय योजना बनाएर स्तरीय चक्रपथ बनाइन लागिएको घर्तीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *