राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल विजयी

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे । त्यस्तै शर्माले १७ मत प्राप्त गरे ।

अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत पाए । त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिएका छन् ।

त्यस्तै राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन् । कांग्रेसले आफ्नोबाहेक लोसपाको १ मत पाएको छ । बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहे । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त रहेको छ ।

को हुन् नवनिर्वाचित अध्यक्ष दाहाल?

माओवादी केन्द्रका स्थायी समिति सदस्य दाहाल २०७८ सालमा राष्ट्रपतिबाट मनोनीत कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका थिए। चितवन स्थायी घर भएका उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका थिए। २०३१ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

अखिल नेपाल भारतीय संघमा काम गरिसकेका दाहाल माओवादी सशस्त्र द्वन्द्वमा सहभागी थिए। २०६३ को अन्तरिम व्यवस्थापिका संसद्‌मा मनोनीत भएका उनी २०६४ को संविधान सभामा सभासद् थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *