प्रदेश २ काे नामाङ्कन र राजधानी तोक्न आयोग गठन

धनुषा । प्रदेश नं २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव सङ्कलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ ।प्रदेश नं २ मन्त्रिपरिषद्को आज बसेको बैठकले नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । समितिका सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन् । सो आयोगलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो ।

स्थायी राजधानीको विषयमा दलहरुबीच खासै विवाद नदेखिए पनि नामाङ्कनका विषयमा मतभिन्ता देखिएको छ । सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालले प्रदेशको नाममा ‘मधेश’ तथा विपक्षी दलहरु नेकपा र काङ्ग्रेसलगायत सांसदले मिथिला, ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन् ।

आयोगले प्रदेशको राजधानी र नामाङ्कनको विषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, सङ्घसंस्था तथा बढीभन्दा बढी व्यक्तिसँग सल्लाह र सुझाव सङ्कलन गर्नेछ ।

आजै अपराध न्यूनिकरणको लागि अपराध नियन्त्रणका लागि ‘हेल्लो सिएम’ एप्स सार्वजनिक गरिएको छ । प्रदेश प्रहरी कार्यालयले आज जनकपुरमा आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री लालबाबु राउतले एप्स सार्वजनिक गर्दै बढ्दै गएको महिला हिंसासम्बन्धी घटनाहरुलाई न्यूनिकरण गर्न एप्स प्रभावकारी हुने बताउनुभयो ।

एप्स बारे ग्रामीण स्तरसम्म जानकारी गराउने गरी सचेतना मुलक कार्यक्रम सञ्चालन गरिने प्रहरी नायव महानिरीक्षक हरि पालले बताउनुभयो । एप्समार्फत आफूसँग भएको घटना सिधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिने छ । एप्सलाई अन गरेर तीन पटक मोबाइल हल्लाएको खण्डमा नजिकको प्रहरी चौकीमा इमरजेन्सी कल जाने र त्यसमा पीडितको लोकेसनसमेत थाहा हुने व्यवस्था रहेकोे निर्माता इ आदित्य राजले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *