पिपिएलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजको जित

कास्की । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् । प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्ने क्रममा बुटवलले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्न सफल भयो ।

पोखरा रङ्गशालाको खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरको खेलमा सात विकेट गुमाएर १५० रन बनायो । जितका लागि १५१ रनको लक्ष्य पाएको घरेलु टोली पोखराले पूरै ओभर खेल्दै नौ विकेट गुमाएर ११७ रन मात्र बनाउन सफल भयो । पोखराका मोहम्मद नाविदले चार ओभरमा २० रन खर्चिदै तीन विकेट लिएका थिए ।

प्रतियोगितामा आजको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ७८ रनको जित दर्ता गरायो । निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८२ रन जोडेको धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर टाइटन १६ ओभरको चौथो बलमा सबै विकेट गुमाउँदै १०४ रनमै समेटिएको थियो । विराटनगरका छ ब्याट्सम्यान दोहोरो अङ्कको रन नबनाई पेभिलियन फर्किएपछि धनगढीले सहज जित दर्ता गर्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *