गाजामा शैन्य आक्रमण रोक्न इजरेललाई अन्तर्राष्ट्रिय अदालतकाे अन्तरिम आदेश

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको शीर्ष अदालतले इजरेलविरुद्धको नरसंहार मुद्दा आफ्नो क्षेत्राधिकारभित्र पर्ने पुष्टि गरेको छ।

एउटा अन्तरिम आदेश दिने क्रममा इन्टरन्याश्नल कोर्ट अफ जस्टिस आईसीजेको अध्यक्षता गरेकी न्यायधीश जोआन डोनोघ्युले इजरेलको मागदाबी बमोजिम अदालतले मुद्दा खारेज नगर्ने बताइन्।

उक्त अदालतले इजरेलविरुद्ध आपत्काल‍ीन आदेशहरू समेत जारी गरेको छ।

त्यसमा उसले इजरेललाई प्यालेस्टिनीहरूको हत्या वा उनीहरूलाई क्षति पुर्‍याउने काम रोक्न र आधारभूत सेवा र मानवीय सहायता पुर्‍याउने उपाय चाल्न आदेश दिएको छ।

तर इजरेलले तत्काल युद्धविराम गर्नुपर्ने भन्दै दक्षिण अफ्रिकाले गरेको मागमा अदालत सहमत भएन।

इजरेलले आफ्नो सेनाले नरसंहार हुने कुनै गतिविधि नगर्ने सुनिश्चित गर्नुपर्ने समेत आईसीजेले भनेको छ।

इजरेलले हमासविरुद्ध जारी लडाइँमा प्यालेस्टिनीविरुद्ध नरसंहार गरेको भन्दै आईसीजेमा दक्षिण अफ्रिकाले मुद्दा दायर गरेको थियो।

इजरेलविरुद्धको आदेशलाई अदालतले लागु गराउन सक्दैन तर यो राजनीतिक रूपमा महत्त्वपूर्ण छ।

इजरेलले नरसंहार गरेको हो वा होइन भन्ने तय गर्न आईसीजेले वर्षौँ लगाउन सक्छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आदेशप्रति प्रतिक्रिया जनाउँदै इजरेलले “अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै आफू र आफ्ना नागरिकको प्रतिरक्षा गर्ने काम जारी राख्ने” बताए।

उनले इजरेलले “पूर्ण जित हासिल नगर्दासम्म” र “सबै बन्धकहरू नफर्किएसम्म यस युद्ध जारी राख्ने” बताए।

दक्षिण अफ्रिकाले अदालतले दिएका आदेशको स्वागत गर्दै त्यसलाई अन्तर्राष्ट्रिय कानुनी राजको एउटा निर्णायक जित र प्यालेस्टिनी जनताको न्यायको खोजीमा उल्लेख्य कोशे ढुङ्गा भएको बताएको छ।

तर दक्षिण अफ्रिकाकी विदेशमन्त्री नलेदी पान्दोरले पत्रकारहरूसँग भनिन्: “म आदेश कार्यान्वयन गर्ने क्रममा युद्ध विराम हुनुपर्नेमा विश्वास गर्छु जसबिना आदेशले खास काम गर्दैन।”

प्यालेस्टिनी विदेश मन्त्री रियाद अल-मलिकीले आदेश मानवताको पक्षमा भएको प्रतिक्रिया दिँदै त्यसको स्वागत गरेका छन्।

इजरेलका एकजना उग्र दक्षिणपन्थी खेमाका सुरक्षामन्त्री इताम्बर बेन-गिभिरले आदेशलाई अस्वीकार गर्दै आईसीजे यहुदी विरोधी अदालत बनेको आरोप लगाए।

इजरेल र दक्षिण अफ्रिका पक्षराष्ट्र भएको महासन्धि

इजरेलले गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको हमला र क्षतिको प्रतिउत्तरमा गाजामा आफूले कारबाही गरेको बताउँदै आएको छ।

इजरेलले आत्मरक्षाका लागि त्यस्तो कारबाही गरिएको र आफूले प्यालेस्टिनी जनताविरुद्ध नभई हमासविरुद्ध निशाना बनाइरहेको जनाएको छ।

यद्यपि दक्षिण अफ्रिकाका न्यायमन्त्रीले यसअघि आईसीजेमा बोल्ने क्रममा नरसंहारसम्बन्धी महासन्धिलाई उल्लङ्घनलाई कुनै पनि आक्रमणले पुष्टि गर्न नसक्ने बताए।

इजरेलले सन् १९४८ को उक्त महासन्धिमा हस्ताक्षर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *