‘बलात्कारी’ सन्दीप लामिछाने घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बित

काठमाडाैं । बलात्कारी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार प्रेस विज्ञप्ति जारी गरी जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका लामिछानेलाई निलम्बन गरिएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं।’

बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ। पुस २५ गते जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले आठ वर्ष कैद र पाँच लाख रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो। यसअघि पुस १३ मा जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो।

जिल्ला अदालतको आदेश अनुसार लामिछानेलाई क्यानले निलम्बन गरेको हो। अब लामिछानेले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिमा सहभागी हुन पाउनेछैनन्।

२०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै पीडितले गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा लामिछाने क्रिकेट खेल्न अफ्रिकी मुलुक केन्या गएका थिए। जाहेरी परेको सार्वजनिक भएपछि उनी नेपाली टोलीसँग नफर्की अमेरिका भागेका थिए।

इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि उनी असोज २० गते नेपाल फर्किएका थिए। उनी विरुद्ध कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई सर्वोच्चले समेत सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए।

मुद्दा दर्ता भएको झन्डै डेढ वर्षपछि पुस १३ मा अदालतको फैसला आएको हो। युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालत, काठमाडौंले ठहर गरेको छ।

उनलाई मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १, २ र ३ को ‘ङ’ अनुसार कसूरदार ठहर्‍याइएको हो। पीडित महिलाको उमेर १८ वर्ष वा सोभन्दा बढी उमेरको भएमा सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। सोही आधारमा जिल्ला अदालतले लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *