राष्ट्रियसभामा भाग खोज्दै बिन्ती बिसाउन बालुवाटार धाउँदै ओली !

काठमाडौं । बाघ बरु भोकै मर्छ घाँस खान्न भन्दै ‘फुइँ लाउने’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले हारगुहार गर्न बालुवाटार धाइ रहेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनले एक्लै पारेर लपेटेपछि भाग खोज्न गठबन्धनको दैलो चहार्न ओली बाध्य भएका हुन् । चुनावमा मिलेर जाने भनेर सत्तारुढ दलले निर्णय गरेपछि एमाले नेताहरूको दौडधुप बढेको छ। प्रमुख दलका नेता शीर्ष नेता ओली, शेरबहादुर देउवा र प्रचण्डबीचको भेटबार्ता पनि बाक्लिएको छ ।

आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई शून्य पारेर नजान भन्दै प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष बिन्ति बिसाएको बुझिएको छ । बुधबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री पचण्डले ओलीको आग्रह बारे ब्रिफिङ गरेका थिए ।

सत्तारुढ दलहरुले राष्ट्रिय सभाको सिट बाँडफाँटका विषयमा सहमति जुटाउन छलफल गरिरहेका छन् । सिट बाँडफाँटबारे समझदारी जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाका नेता छलफलमा जुटेका थिए । त्यही मेसाेमा अलिकति भाग चाहियाे भन्दै ओली पुगेका हुन् । गठबन्धनको अर्को बैठक बिहीबार बस्ने भनिएको छ ।

बुधबार साँझ गठबन्धनको छलफलपछि भागबन्डाको कुराकानी गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए । सकारात्मक रूपमा छलफल चलिरहेकाे बुझिएकाे छ ।

आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन मिलेर गए एमाले शून्य हुने छ । त्यसपछि अहिले राष्ट्रिय सभामा १७ सदस्यसहित पहिलो शक्ति रहेको एमालेको हैसियत तेस्रोमा खुम्चिने छ । अध्यक्ष खड्क प्रसादकाे नेतृत्व क्षमता मै गम्भीर प्रश्न उठ्ने संकेत देखिएपछि एमाले नेताहरूमा छटपटी देखिँदैछ ।

राष्ट्रिय सभा सदस्यमा पदावधि सकिएपछि २० जना सदस्य अब बिदा हुँदैछन् । बिदा हुनेमध्ये सबैभन्दा धेरै नेकपा एमालेका ८ जना सदस्य रहेका छन् । कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ तथा स्वतन्त्र निर्वाचित एक जनाको ६ वर्षे पदावधि आगामी फागुन २० देखि सकिँदै छ ।

पदावधि सकिनु एक महिनाअघि चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने मिति तोकेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *