वरिष्ठ कवि विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान

काठमाडौं । नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको २०८० सालको ‘सुभद्रा विश्वराज स्रष्टा सम्मान’ चितवनका वरिष्ठ कवि गोविन्दराज विनोदीलाई एक विशेष समारोहबीच आज राजधानीमा अर्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले उहाँलाई सम्मान गर्नुभएको हो । समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार विधान आचार्यद्वारा स्थापित उक्त सम्मानको राशि २१ हजार १११ रहेको छ ।

समाजको १७औं स्थापना दिवस तथा १७औं वार्षिक साधारणसभाको अवसर पारेर आयोजित तथा अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रथम सत्रमा उपाध्यक्ष चेतनाथ कणेल हरितले स्वागत मन्तव्यका साथ संस्थाको परिचय दिनुभएको थियो भने महासचिव देविका तिमिल्सिनाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सचिव प्रकाश घायलद्वारा सञ्चालित उक्त सत्रमा सल्लाहकारहरू शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई, विधान आचार्य तथा रमा शर्मा र समाजका बागमती प्रदेश संयोजक रवीन्द्र आशिष शैली, गण्डकी प्रदेश संयोजक रीता न्यौपाने पहारी तथा कर्णाली प्रदेश संयोजक देवकी तिमिल्सिनाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्र भने विशेष साहित्यिक कार्यक्रमका साथ सम्पन्न भएको थियो । यसअन्तर्गत वरिष्ठ कवि विनोदीलाई सम्मान, पूर्वअध्यक्ष एवं सल्लाहकार चन्द्रप्रसाद भट्टराईलाई सम्मान, कवि उद्धवबहादुर भण्डारी (भोजपुर) को ‘अपाङ्गता आवाज’ शीर्षकको कविता–संग्रहको लोकार्पण तथा समाजका नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरणजस्ता विविध क्रियाकलापहरू सम्पन्न भएका थिए । सम्मानित वरिष्ठ स्रष्टा विनोदीको परिचय समालोचक ज्ञानु अधिकारीले र ‘अपाङ्गता आवाज’ कविता–संग्रहको संक्षिप्त परिचय प्रा.डा. गोविन्दमानसिंह कार्कीले दिनुभएको थियो ।

महासचिव देविका तिमिल्सिनाद्वारा सञ्चालित यस कार्यक्रममा समाजका अध्यक्ष रोदनले विशेष सम्बोधनका साथ केही समयभित्रै नेपाल स्रष्टा समाजमा ‘रेखा–पवन स्रष्टा सम्मान’ को थालनी हुने र सोही प्रयोजनका लागि समाजका पूर्व अध्यक्ष तथा संरक्षक पवन आलोक र आजीवन विशिष्ट सदस्य तथा आलोककी धर्मपत्नी रेखा कँडेलका छोरीहरू (३ जना), छोरा तथा बुहारीको संयुक्त प्रयासबाट १५ लाख रुपैयाँको अक्षयकोष रहने व्यवस्था गर्न लागेको विशेष (सरप्राइज) सन्देशको घोषणा गर्नुभएको थियो । त्यसैगरी, समाजका आजीवन विशिष्ट सदस्य एवं ‘योगमाया अभियन्ता राष्ट्रिय’ सम्मानका संस्थापक राजेश न्यौपाने परिवारले समाजका सल्लाहकार वरिष्ठ साहित्यिक पत्रकार, ‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक तथा साहित्यकार नगेन्द्रराज शर्माका नाममा राखिएको तथा पवन आलोकबाटै अध्यक्षता ग्रहण गरिएको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोष’मा रु. एक लाख एक सय एघारको चेक कोषका अध्यक्ष आलोकलाई सोही अवसरमा हस्तान्तरण गर्नुभएको थियो ।

सम्मान कार्यक्रमका अवसरमा सम्मानित व्यक्तित्व विनोदी तथा भट्टराईले आफू सम्मानित हुन पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभएको थियो भने प्रमुख अतिथि प्रा.डा. सुवेदी तथा संरक्षक पवन आलोकले उहाँहरूलाई बधाई दिँदै समाजका पछिल्ला गतिविधिले आफू निकै प्रसन्न रहेको कुरा उल्लेख गर्नुभएको थियो । समग्र कार्यक्रमको अन्त्यमा कोषाध्यक्ष तारा सुवेदीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

स्मरणीय छ, नेपाल स्रष्टा समाजले १७औं स्थापना दिवसको सन्दर्भ पारेर गतः पुस १३ गतेदेखि सप्ताहव्यापी विशेष साहित्यिक कार्यक्रम गरिरहेको छ । पहिलो दिन उद्घाटन तथा पर्या एवं सम्पदा कवि–गोष्ठी, दोस्रो दिन युवाकवि देबु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ अर्पण तथा कवि–गोष्ठी र तेस्रो दिन निबन्ध–गोष्ठी सम्पन्न भइसकेको छ ।

आजको कार्यक्रम चौथो दिनको कार्यक्रम थियो । बाँकी तीन दिनमा ‘साहित्यिक पत्रिकामा भाषिक एकरुपता’ गोष्ठी (पुस १७), स्रष्टासँग विद्यार्थी अन्तक्र्रिया कार्यक्रम (पुस १८), तथा सप्ताहव्यापी कार्यकमको समीक्षाका साथ प्रदेश संयोजकहरूको विशेष बैठक (पुस १९ गते) राखिएको कुरा समाजका अध्यक्ष रोदनले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *