१२ वर्षपछि भुटानबिरुद्ध नेपालको शानदार जित

काठमाडौँ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा भूटानबिरुद्ध नेपालले शानदार जित हात पारेको छ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मंगलबार बिहान भएको खेलमा नेपालले १ सय १७ रनको फराकिलो जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा ४ वीकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

१ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले अलआउट हुँदै ३३ रन मात्रै जोड्न सक्यो । नेपालका लागि सन्दीप लामिछाने र ललितराज राजवंशीले तीन÷तीन विकेट लिए । बसन्त रेग्मीले दुई, दिपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले समान एक÷एक विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर प्रदीप ऐरीले नटआउट ७५ रन जोडे । अनिल साह २७, दिपेन्द्रसिंह ऐरी २५ र आरिफ शेखले १३ रन जोडे । भुटानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गरेको थियो ।

आजको खेलमा प्रदिपसिंह ऐरी म्यान अफ दि म्याच घोषित भए ।

नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपालले तीन खेलबाट ६ अङ्क जोडेको छ । नेपाल १२ वर्षपछि भूटानसँग भिडेको हो ।

छनोट प्रतियोगिताअन्तर्गत नेपालले बुधबार चीन र शुक्रबार अन्तिम खेल सिङ्गापुरसँग खेल्नेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *