क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा फेरि स्थगित

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा फेरि स्थगित भएको छ।

जिल्ला अदालत, काठमाडौंमा आइतबार पेशी तोकिएको मुद्दा लामिछानेका वकीलका तर्फबाट स्थगित गरिएको हो। यो मुद्दामा अहिलेसम्म ३२ पटक पेशी तोकिएको छ भने स्थगित मात्रै आठ पटक भएको छ।

जिल्ला अदालतका अनुसार, लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगित गर्न माग गरिएको थियो। त्यसपछि इजलासले मुद्दा स्थगित गरिएको जनाएको थियो।

आज जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकिएको थियो। एक महीनाअघि कात्तिक २३ मा भएको सुनुवाइमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट पेश गर्न आदेश दिएको थियो।

यस मुद्दामा सर्वोच्च अदालतले ‘फास्ट ट्रयाक’बाट छिनोफानो गर्न आदेश दिएको थियो। तर, एक वर्ष बितिसक्दा पनि टुंगोमा पुगेको छैन।

२०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेर अमेरिका पुगेका थिए। इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनले नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।

यो मुद्दा ३२ पटक पेशी चढे पनि फैसला भने आएको छैन। अब अर्को पेशी कहिले हुन्छ भन्ने यकीन भएको छैन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *