नेपालको लगातार दोस्रो जित, सन्दिपकाे सानदार बलिङ

काठमाडौँ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जित निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कप्तान पारस खड्काले अविजीत ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले अविजीत २७ रन जोडे तथा ओपनर विनोद भण्डारी १२ र अनिलकुमार साहले एक–एक रनको योगदान गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो । मलेसियालाई १०० रनमै सीमित गर्ने क्रममा नेपालका युवा बलर सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले तीन र कप्तान पारस खड्काले १ विकेट लिएका थिए ।

यसअघि यही असोज १७ गते भएको पहिलो खेलमा नेपालले म्यानमालाई ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले आइतबार थाइल्याण्डसँग खेल्नेछ । त्यस्तै असोज २३ गते भूटान, २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन् ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिष्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन सिवाकोटी हुनुहुन्छ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली यही असोज १५ गते मलेसिया गएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *