‘सिमली छायाँ’ले नेतादेखि दर्शक झुमायो

सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको

काठमाडाैँ । जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे । तालीका साथ गीतमा स्वर मिसाउँदै मच्चीमच्ची नाचे । बालबालिका स्टेजमै चढेर साथ दिए । दर्शकदीर्घामा रहेका कलाकार, साहित्यकारसँगै उच्च राजनीतिक नेतृत्वले समेत ताली पड्काएर गायक शर्मालाई साथ दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमदल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल, मणि थापा, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलगायतले आज साँझ राष्ट्रिय सभागृहमा आयोजित ‘संयुक्त साङ्गीतिक साँझ’मा मनोरञ्जन लिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य र नेता सिपी गजुरेल पनि हुनुहुन्थ्यो ।

राष्ट्रिय सभागृहको हल भरिएका दर्शकले ‘वान्स मोर’ भन्न भ्याए । दर्शकको सिटी सहितको हुटिङले कलाकारलाई जोस थपेको थियो । जनगायक शर्माले १० भन्दा बढी जनवादी गीत प्रस्तुत गर्दा राजनीतिक नेतृत्वले गम्भीर भएर सुने । कार्यक्रममा गायक शर्माले एकताको सन्देश यसरी गीतमार्फत प्रस्तुत गर्नुभयो…

मधेशी पहाडी, हिमालका हिमाली
सयाँै जाति जनजाति, हामी सबै नेपाली

गीतको भाव झैँ शर्माले राजनीतिक नेतृत्वलाई आग्रह गर्दै भन्नुभयो, “हामी सबै नेपाली, देश हामी सबै मिलेर माथि उठाउनु पर्छ ।” दर्शकले हो मा हो मिलाए ।

म निर्धाको गाथा लेखेर गीत सुनाउँदै हिँड्छु म
दुःखीको व्यथा देखेर आँसु बगाउँदै हिँड्छु म

जिन्दगीका कहानी सम्झिएर प्रस्तुत भएको उक्त गीतका भावले दर्शक र नेतालाई मन्त्रमुग्ध बनायो । हल नै चकमन्न भयो । सामान्य परिवारका जिन्दगीका कथा उनेका उहाँका दुःख र वेदनाका गीतहरुले दर्शकलाई मनोरञ्जन मात्रै दिएन एक पटक सोच्न बाध्य बनाएको महसुश हुन्थ्यो ।

गीतमा नेपाल र नेपालीका असली पात्रको कहानी भेटिन्थ्यो । म डुल्दै जाँदा तराईको फाँटमा, आधी रातमा हुरी चल्दा, चाहिँदैन मलाई सिसाको महल, झरनाको चिसो पानी, यसपालि त यस्तै भो आमा… लगायतका गीतमा दर्शक मजैले झुमे । राजनीतिक नेतृत्व गम्भीर बने । विदेशिएका नेपालीलाई फर्काउन श्रम तथा रोजगारमन्त्रीलाई गायक शर्माले आह्वान नै गर्नुभयो ।

विसं २०४२ मा रचना गरिएको गीत ‘फोकल्याण्डको टापुबाट’ र विसं २०५२ सालको द्वन्द्वका बेलाको ‘समयसँग सम्झौता हैन सङ्घर्ष गर’ लगायत गीतले दर्शकलाई ऊर्जा भरेको थियो ।

सानो सानो बुकुरो पहाडको छेउमा मेरो घर,
त्यहीँ नि साहुले खाइदियो अब मलाई झनै के को डर

उक्त गीतलाई कलाकारले नाट्य रुपान्तरण गरेर प्रस्तुत गरेका थिए भने हास्य कलाकार सुबोध गौतमले सहभागी नेताकै क्यारिकेचर गरेर पेट मिचिमिचि हँसाए ।

कार्यक्रममा सामना सांस्कृतिक परिवारले ‘रातो लाल्टिन’ लगायत विभिन्न गीतमा नृत्य देखाएर दर्शकलाई मनोरञ्जन दियो । आयोजक इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले शर्माका गीत वैचारिक मूल्यले सजिएको भन्दै गीतको माध्यमबाट नयाँ सन्देश दिन खोजिएको उल्लेख गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *