क्यानको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यानको सचिवमा निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनको मतगणनामा कुल खसेको ८५ मतमध्ये प्रशान्तलाई ३७ मतमा रोक्दै पारसले ४८ मत ल्याएर जित हासिल गरेका हुन् । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।

उनी यसअघि बाग्मती क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।

क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् ।

अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको थियो ।

जसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भए । मधेश प्रदेशबाट माधव कुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोला प्रथाबाट माधवकुमार कर्मचार्य विजयी भए ।

गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए भने बागमतीमा दिवाकर घलेले ४६ मत ल्याएर विजयी भए । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भए ।

खुल्ला सदस्यमा धीरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१, वीरेन्द्र चन्द ३४ मत ल्याएर निर्वाचित भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत पाएका थिए र गोला प्रथा गर्दा करण चुनिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *