बालेन टाइम पत्रिकाको ‘१०० नेक्स्ट’ सूचीमा

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कतिपय कदम र अभिव्यक्तिबारे उनीमाथि प्रश्न उठिरहेकै बेला एक प्रसिद्ध अमेरिकी पत्रिका टाइमले उनलाई यस वर्षका एक सय उदीयमान व्यक्ति ‘टाइम १०० नेक्स्ट’ को सूचीमा राखेको छ।

टाइमले प्रत्येक वर्ष विश्वभरिबाट राजनीति सहित स्वास्थ्य, वातावरण, खेल, व्यवसायजस्ता विभिन्न विधाका उदीयमान व्यक्तिहरू छानेर त्यस्तो सूचीमा राख्ने गरेको जनाएको छ। जसमा उनीहरूको कामको चर्चासहित विवरण प्रस्तुत गरिन्छ।

त्यस्तो सूचीमा काठमाडाैं युवा मेयरको नाम सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले यसबारे विभिन्न चर्चा परिचर्चा गरिरहेका छन्।

धेरैजसोले उनलाई बधाई दिएको देखिएको छ भने कतिपयले मेयरका केही कदम र अभिव्यक्तिबारे प्रश्न उठाइरहेका छन्।

टाइमले बालेनबारे के लेखेको छ?

शाहलाई टाइमले ‘२०२३ टइम१०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ।

स्वतन्त्र उम्मेदवारी दिएका ३३ वर्षका शाहले ‘सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशाको अवसर छोप्दै ‘बालेन प्रभाव’ सिर्जना गरेको’ टाइमले उल्लेख गरेको छ।

जसले गर्दा देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारले स्थापित राजनीतिज्ञहरूलाई हराउन सफल भएको पनि टाइमले उल्लेख गरेको छ।

यसअघि द न्यू योर्क टाइम्सले गत मे महिनामा बालेनबारे एउटा लामो सामग्री प्रकाशित गरेको थियो।

राजनीतिक विश्लेषक कसरी हेर्छन्?

बालेन्द्र शाहलाई टाइमले १०० नेक्स्ट सूचीका निम्ति गरेको चयन उनको युवा उमेर र युवामाझ उनको चर्चा मुख्य रहेको हुनसक्ने राजनीतिक विश्लेषकहरूले बताएका छन्।

राजनीतिक विश्लेषक सीके लाल भन्छन्, “उनी एक स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन्, अर्को उनी सेलिब्रेटि हुन् र उनलाई जुन विधामा छानिएको छ त्यसमा उमेरले पनि साथ दिएको छ। यी कारण नै पर्याप्त छन्। यो उनको कामको प्रदर्शन वा योगदानका लागि त दिइएको होइन।”

भविष्यमा सम्भावित नेताका रूपमा बालेनलाई सूचीमा राखिएको विश्लेषक लालको धारण रहेको छ।

“नेपालमा कस्तो संसदीय व्यवस्था रहन्छ त्यसमा भर पर्छ। त्यसैले उनको सम्भावना कति रहन्छ भन्ने अहिले प्रक्षेपण गर्न सकिँदैन,” लालले भने।

“झन् यो त स्थानीयमा थियो। प्रदेश वा सङ्घमा त झन् कठिन हुन्छ।”

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल टाइम पत्रिकाले वर्तमान अवस्थामा को सबैभन्दा बढी चर्चामा छ भन्ने कुरालाई आधार मानेर उनलाई चयन गरेको हुनसक्ने बताउँछन्।

“सामाजिक सञ्जाल हेर्ने हो भने (नेपालमा) अहिले बालेन शाह जति कोही पनि चर्चामा देखिँदैन। तर टाइमले मानिस चयन गर्दा कोसँग परामर्श गर्‍यो र केलाई आधार मान्यो भन्ने हो,” खनालले भने।

“तर कामको प्रदर्शन नै हेर्दा उनको त्यति धेरै हाइहाइ गर्नुपर्ने त छैन। केही विद्यालयमा छात्रवृत्ति दिलाउने जस्तो केही काम गरेको भए पनि सहरको व्यवस्थापनको कुरामा, सरसफाइको कुरामा वा अन्य कुरामा यो त राम्रो गरे भन्ने ठाउँ चाहिँ छैन।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *