जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझा सहकार्य आवश्यक

गण्डकी । जोन्टा क्लब अफ पोखराको आयोजना एवं पोखरा पर्यटन परिषद् र होटेल सङ्घ पोखराको सहकार्यमा आयोजित जलवायु परिवर्तन विषयक कार्यक्रममा जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझा सहकार्य आवश्यक भएकोमा जोड दिइएको छ ।

विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असर बढिरहेका अवस्थामा नेपाल पनि प्रत्यक्ष प्रभावित भएको बताउँदै वक्ताहरूले प्रभावको न्यूनीकरणका लागि साझा सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले जलवायु परिवर्तन चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यसको न्यूनीकरणमा सबैले आआफ्ना तर्फबाट योगदान गर्नुपर्ने बताउनुुभयो । जलवायु परिवर्तनको सम्भावनालाई समेत आत्मसात् गर्दै वातावरणमैत्री संरचना निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले पछिल्ला समयमा मुस्ताङको कागबेनीमा बाढीले पारेको नकारात्मक प्रभाव आदिबारे सचेत बन्नुपर्नेमा जोड दिनुुभयो ।

जलवायुविज्ञ डा जगदीश पराजुुलीले उद्योग, यातायात, कृषि, पर्यटन, वातावरणलगायतका हरेक क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर पर्ने बताउनुुभयो । नेपालको पर्यटन प्रकृतिमा आधारित भएको बताउँदै उहाँले प्रकृतिको संरक्षणसँगै जलवायु परिवर्तनको दीर्घकालीन असर न्यूनीकरण गर्ने तवरबाट पूर्वाधार निर्माणमा जोड दिनुुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले वातावरणको संरक्षण अपरिहार्य भएको बताउनुभयो । जलवायु परिवर्तनका क्षेत्रमा देखिएका असरको न्यूनीकरणतर्फ बेलैमा सचेत बन्नु जरुरी भएको उहाँले बताउनुभयो ।

होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, जोन्टा क्लब अफ पोखराका अध्यक्ष मोनिका थापालगायतले सबैको सहकार्यमा जलवायु परिवर्तनले पार्ने प्रभावको न्यूनीकरण गर्न सकिने धारणा राख्नुुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *