नेपालले भारतलाई दियो २ सय ३१ रनको टारगेट

काठमाडौं। एसिया कप क्रिकेटमा नेपालले जितका लागि भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३० रन बनायो ।

नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेले । उनले ९७ बलमा आठ चौकासहित सर्वाधिक ५८ रन बनाए। अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए ।

यस्तै सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान गरे। ओपनर आसिफ र कुशलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

यस्तै दीपेन्द्रसिंह ऐरीले २९ र गुलशन झाले २३ रन बनाए । सन्दीप लामिछानेले नौ, भीम सार्कीले सात, कप्तान रोहित पौडेलले पाँच, कुशल मल्ल र करण केसीले समान दुई दुई रन जाेडे ।

ललित रानवंशी शुन्य रनमा आउट भए। बलिङमा भारतका मोहम्मद सिराज र रवीन्द्र जडेजाले तीन तीन विकेट लिए । मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पाण्डेयले एक एक विकेट लिए ।

एक दिवसीयमा कुशलको एक हजार रन पूरा

नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन् । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा उनले एक दिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन् ।

एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । भुर्तेलले ४६औं खेलमा एक हजार रन पूरा गरेका हुन् ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ पाएको राम्रो सुरुआत गरेको छ । अहिले ओपनर आसिफ शेख र कुशल भुर्तेल क्रिजमा छन् । यसअघि  नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *