हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । सोमवार साँझ भएको मतदानमा थापाको पक्षमा ४७ जना सांसदले मतदान गरेको प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले जानकारी दिए।
“माननीय उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु,” मन्सुरीले भने।
प्रदेशसभामा कायम रहेका ९३ मध्ये ७७ जना सदस्य मतदानमा उपस्थित थिए। जसमध्ये थापाको पक्षमा जम्मा ४७ मत प्राप्त भएको छ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् ।
बैठकको अध्यक्षता गर्ने मन्सुरीले पनि नेकपा माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई एक केही समय अध्यक्षता गर्ने जिम्मा दिएर मतदानमा भाग लिएका थिए। तिम्सिनाले आफूले मतदान गरिसकेपछि केही समय बैठकको अध्यक्षता गरिन्।
विपक्षी नेकपा एमाले र राप्रपाका सांसदहरूले यस्तो कार्यको विरोध गर्दै प्रदेशसभामा नाराबाजी गरेका थिए।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धनको पक्षमा बहुमत पुर्याउन नदिन अपनाएको उपाय निष्प्रभावी तुल्याउन फेरि कोशी प्रदेशमा “सभामुखलाई उपयोग गर्ने सूत्र” प्रयोग गरेको थियो।
गठबन्धनका नेताहरूले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने इस्राइल मन्सुरीले पनि मतदानमा भाग लिए।
तर उनले दिएको मतले संवैधानिक र कानुनी रूपमा मान्यता पाउने वा नपाउने अन्योल कायमै रहेको जानकारहरू बताउँछन्।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत परीक्षण गर्ने क्रममा सत्तापक्ष र प्रतिपक्षको राजनीतिक दाउपेचका कारण कोशी प्रदेशको सत्ता राजनीति निकै पेचिलो देखियो।
प्रदेशसभा बैठकको अध्यक्षता गर्ने ठानिएकी उपसभामुख सृजना दनुवार उपचारका लागि भन्दै सोमवार प्रदेशसभा बैठकअघि नै काठमाण्डू हिँडेपछि सत्ता गठबन्धनलाई अप्ठ्यारो परेको थियो।
सभामुख र उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्छ।
एमाले र राप्रपाका ज्येष्ठ सदस्य पनि बिदामा बसेपछि उपसभामुखले नेपाली कांग्रेसका मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दिएका थिए।
“आफू अस्वस्थ भएर प्रदेशबाहिर जानुपर्ने भएकाले आफ्नो अनुपस्थितिमा मन्सुरीलाई जिम्मेवारी तोक्नुभएको हो,” प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले उपसभामुखको निर्णयबारे भने।
प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।