प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडाैं । प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको थियो। संसद्को अवरोध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच बिहान छलफल भएको थियो। त्यसमा सहमति नजुटेपछि प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेका लागि सारिएको थियो।

तीन दलका शीर्ष नेता दोस्रो पटक छलफलमा जुटे पनि सहमति हुन सकेन। जसले गर्दा प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ। संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा अर्को बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जनाइएको छ।

करीब १०० किलो सुन तस्करी प्रकरणलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दलबीच सहमति जुट्न सकेको छैन। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ।

त्यसमा सत्तापक्ष सहमत हुन सकेको छैन। सुन तस्करी प्रकरणको जिम्मामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिइसकेकाले उच्चस्तरीय समितिको आवश्यकता नरहेको सत्तापक्षको मत छ।

यस विषयलाई लिएर केही दिनदेखि संसद् अवरुद्ध हुँदै आएको छ। राष्ट्रिय सभाको आजको बैठक पनि एमालेका सांसदको अवरोधका कारण स्थगन भएको थियो।

साउन ३ गते हङकङबाट आएको करीब १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएपछि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो। यसमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्। अहिले विभागले यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *