काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
हल गोरु पाल्ने कृषकलाई १० लाख अनुदान
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।
गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप रु १० लाख वितरण गरेको छ । गाउँपालिकाले हल गोरु पोषण अनुदानवापत सबै वडाका दुई सय ५० कृषकलाई जनही रु चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो । प्रोत्साहन रकम पाएपछि लम्पी रोगबाट प्रभावित भएका पशुहरुको संरक्षणमा सहयोग पुग्ने भन्दै कृषक खुसी भएका छन् ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रोत्साहन रकमले हलगोरु पाल्ने कृषक अझै बढ्ने विश्वास लिएका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।”
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न कृषकलाई सुझाव दिनुभयो । गाउँपालिकाले दुई हजार एक सय ९८ पशुलाई लम्पी स्कीन विरुद्धको खोप लगाइसकेको छ । पशुसेवा शाखा प्रमुख डा शाहका अनुसार गाई, गोरु, भैँसी, राँगालाई उक्त खोप लगाइएको हो । त्यस्तै पाँच सय १७ पशु वस्तुको उपचार गरिएको छ ।
गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनको आधारमा अनुदान रकम उपलब्ध गराएको छ । गाउँपालिकाको पशुसेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले कृषकलाई रु १४ लाख ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ । गाउँपालिकाले प्रति लिटर नौ रुपैँया २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीति बमोजिम तीन वटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरेको छ ।
म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध बिक्री गर्ने कृषकलाई रु ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई रु दुई लाख १२ हजार दुई सय ३२ र साँगे चार हजार दुग्ध उत्पादक सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई रु एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको पशु सेवा शाखाले जानकारी दिएको छ ।
म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चार हजार दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दूग्ध उत्पादन गरी बिक्री गरेको हो । यो आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फत म्याग्दे सहकारीका ५५, गौ सेवा सहकारीका १० र साँगे चार हजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।