नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

देवस्व हिनामिना गर्दा पशुपति विकास कोषका पूर्व सदस्य सचिवमाथि भ्रष्टाचार मुद्दा
काठमाडौं। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आज मुद्दा दर्ता गरिएको छ।
अख्तियार दुरुपायोग अनुसन्धान आयोगले रु एक करोड ४४ लाख ११ हजार ७८१ सम्पत्ति स्रोत नखुलेको दावीसहित डा ढकालविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
२०७४ साल साउनदेखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव रहेका डा ढकालले पदीय दुरुपयोग गरी अस्वभाविकरुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा गैर कानूनीरुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
सदस्य सचिवका रूपमा डा ढकालको चार वर्षीय कार्यकाल २०७८ साल साउनमा पूरा भएको थियो।
ढकाल सदस्य सचिव रहेकै समयमा पशुपतिनाथको गर्भगृहमा सुनको जलहारी राखिएको थियो। सुनको जलहारी राख्नेक्रममा सुनको तौल पूरा नभएको भनी प्रश्न उठाउने केही सदस्यलाई ढकालकै सिफारिसमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालले कार्बाही गरेका थिए।
सदस्य सचिव ढकालले पशुपतिनाथको दर्शन गर्न जाने भक्तालुहरुसँग उठाईने प्रवेश शुल्कमा समेत ठूलो हिनामिना गरेको बुझिएको छ।
देवस्व हिनामिना गर्ने जो कोही पनि यसैगरी कार्बाहीमा पर्दैजाने एकजना ज्योतिषीले बताए।
सार्वजनिक पद धारण गरेका ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी १ करोड ४४ लाख बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारले बताएको छ।