नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

काठमाडाैं । आईसीसी विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको छ।

घरेलु मैदानमा दुई खेलाडीले शतक प्रहार गरेपछि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा दुई विकेट गुमाएर सहजै पूरा गरेको छ। जिम्बावेका लागि क्रयाग इर्भिन र सिन विलियम्सले शतक प्रहार गरे।

प्रारम्भिक ब्याटर इर्भिनले १२८ बलमा १२१ रन बनाए। उनले १५ चौका र एक छक्का प्रहार गरे। त्यस्तै, विलियम्सले ७० बलमा १०१ रन बनाए।

नेपालका लागि सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिए। अन्य नेपाली बलर महँगा सावित भए।

जिम्बावेको हरारे रङ्गशालामा पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २९० बनाएको थियो। नेपालका लागि प्रारम्भिक ब्याटर कुशल भुर्तेल र आसिफ शेखले १६७ रनको कीर्तिमानी साझेदारी गरे।

नेपालका लागि कुशलले ९९ रन बनाए। उनले ९५ बलमा १३ चौका र दुई छक्का प्रहार गरे। त्यस्तै, आसिफले ६६ रन बनाए। उनले १०० बलमा सात चौका प्रहार गरे।

त्यसपछि कुशल मल्ल र रोहित पौडेलले नेपालको पारी सम्हालेका थिए। कुशलले ४१ रन बनाए भने रोहितले ३१ रन बनाए। कुशलले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे भने रोहितले २९ बलमा पाँच चौका प्रहार गरे।

यस्तै, आरिफ शेखले १०, गुल्सन झाले १३, दीपेन्द्रसिंह ऐरीले ६ र करण केसीले दुई रन बनाए।

जिम्बावेका लागि रिचार्ड गरवाले चार, विलियम्सन मसकजाले दुई, तेन्दाई चटरा र ब्लेसिङ मुजरबानीले एक–एक विकेट लिए।

अब नेपालले विश्वकप छनोट प्रतियोगिता अन्तर्गत असार ५ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन् ।

सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *