हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
रिहा भए रेशम
काठमाडाैं । टिकापुर घटनामा जन्मकैदको सजाय सुनाइएका रेशम चौधरी आम माफी पाएर रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि चाैधरी साेमबार डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
चौधरीको स्वागतका लागि पुष्पगुच्छा र माला लिएर आफन्तजन र समर्थकहरु बिहानै कारागार अगाडि भेला भएका थिए। उनीहरुले बाजागाजा र फूलमाला सहित चाैधरीकाे स्वागत गरे ।
उनलाई आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको टीकापुर घटनाको योजनाकारको रूपमा तीनै तहका अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ४८२ जनाको बाँकी कैद मिनाहा गर्न र चौधरीसहित १९ जनालाई आममाफी दिन सिफारिश गरेको थियो।
टीकापुरमा मारिने प्रहरी र बालकले पनि न्याय पाउनुपर्छ : रेशम
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन राज्यले सार्वजनिक गर्नुपर्ने बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा आममाफी पाएपछि रिहा भएका चौधरीले सोमबार बिहान डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुने राज्यको दोष भएको बताए।
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘सहादता प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ, अढाइ वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ, र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ।’
उनले विपक्षीहरूले सोचेजस्तो यो घटना हो/होइन भन्ने अन्तिम सत्य थाहा पाउनुपर्ने बताए।
‘आफ्नो श्रीमान् कसरी मरे, आफ्नो दाइ-भाइ कसरी मारिए, आफ्नो बच्चाले कसरी सहादता प्राप्त गर्यो? अन्तिम सत्य परिवारले थाहा पाउनुपर्छ,’ उनले भने। यसका लागि आफूले पनि उनीहरूलाई सघाउने आश्वासन उनले दिए।
आन्दोलनको भिडिओ हेर्न अनुरोध गर्दै उनले उनीहरूले सोचेजस्तो दोषी आफूहरू नभएको दाबी गरे ।
अधिकारको आन्दोलनले जेल
विद्यार्थी जीवनकालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु सदस्य समेत भएका रेशम गीत संगीतमा लागेपछि सक्रिय राजनीतिबाट लगभग अलग भएका थिए ।
राजनीतिबाट अलग भएपछि उनी मार्सल आर्ट प्रशिक्षक भए, रेडियो कार्यक्रम चलाउन थाले । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि प्रधानमन्त्रीका लागि निवेदन माग गर्दा रेशमले पनि निवेदन दिएर चर्चामा आए । २०६२/६३ को आन्दोलन सफल भएपछि रेशम कैलालीको टीकापुर फर्किए ।
टीकापुरमा फूलबारी एफएम चलाउन थाले, टीकापुर महोत्सव गर्न थाले । महोत्सवमा प्रमुख दलका नेताहरुलाई प्रमुख अतिथि बनाएर लैजाने गरेका उनले नेता बन्ने चाह लुकाएका थिएनन् ।
दोस्रो संविधानसभामा प्रदेशहरुको संख्या र सीमाबारे बहस चर्किरहेका बेला देशका विभिन्न भागमा आन्दोलन उठ्यो । सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नारा लाग्यो । रेशम बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरको थारु बहुल क्षेत्रलाई छुट्टै प्रदेश बनाउनुपर्छ भन्ने आन्दोलनमा लागे ।
त्यसक्रममा ७ भदौ २०७२ मा टीकापुरमा हिंसात्मक घटना भयो । तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भयो । त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले आफूसहित ८८ जनाविरुद्ध मुद्दा चलाएपछि रेशम फरार भए । भूमिगत रहेकै अवस्थामा कहिले जंगल त कहिले खेतबारीमा भिडियो रेकर्ड गराएर आफू निर्दोष भएको सन्देश प्रवाह गरिरहे । २०७३ असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेका बेला रेशम एक रात्रिभोजमा उनलाई भेट्न सफल समेत भए ।
२०७४ मंसिरमा आमचुनाव भयो, रेशमले भूमिगत स्थितिमै तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिए । अनि, वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई २१ हजारको फराकिलो अन्तरले हराउँदै सांसद चुनिए । वारेफमार्फत उम्मेदवारी दिएर चुनाव त जिते, सांसद निर्वाचित भएको प्रमाणपत्र बुझ्न आफैं आउनुपर्ने भयो ।
त्यसरी आउँदा पक्राउ पर्ने पक्का थियो, त्यसले वारेसमार्फत प्रमाणपत्र बुझ्न पाउनुपर्ने माग गर्दै वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दिए । सर्वाेच्चले आफ्ना माग अस्वीकार गरेपछि रेशमले १५ फागुन २०७४ मा आफूविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत, कैलालीमा आत्मसमर्पण गरे ।
पुर्पक्षका लागि थुनामा रहेकै बेलामा १९ पुस २०७५ मा सांसदको शपथ लिए । त्यसको दुई महिनापछि जिल्ला अदालत, कैलालीले जन्मकैदको सजाय सुनायो भने ३ पुस २०७७ मा उच्च अदालत, दिपालयले राजकुमार कठरियासहित तीन जनाको जन्मकैद उल्टी गर्दा पनि रेशमको सजायलाई सदर गर्यो ।
दुई पटकको संसद विघटनपछि उनी आवद्ध दल (राजपासँग एकतापछि) जनता समाजवादी पार्टी (जसपा) शेरबहादुर देउवा नेतृत्वको सरकारमा गयो, तर न उनको मुद्दा फिर्ता भयो, न उनी रिहा भए । एक पटक पनि संसद बैठकमा सहभागी हुन नपाई उनको ५ वर्षे कार्यकाल सकियो ।
सत्ता सहयात्राले आममाफी
जेलमा बसेर भएपनि राजनीतिलाई नियालिरहेका रेशमले अर्को निर्वाचनको पूर्वसन्ध्यामा अर्को कदम चाले, श्रीमती रञ्जिताको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन । पुस २०७९ मा गठन भएको नाउपाले रेशम चौधरीकै तस्वीर राखेर चुनावमा नारा लियो, ‘ढकियामा मतदान, जीवनदान ।’
वैशाख २०७९ को स्थानीय चुनावमा नाउपाले टीकापुरसाथै भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा प्रमुख नै जित्यो । त्यही नाराका साथ मंसिरको चुनाव लडेको नाउपाले प्रतिनिधिसभामा चार सांसद जित्यो ।
कैलाली १ मा रञ्जिता आफैं जित्दा २ मा अरुण चौधरी र ३ मा गंगाराम चौधरी विजयी भए । रेशम आफैं बर्दिया २ मा उम्मेदवार भएका थिए, उनको उम्मेदवार खारेज भएपछि स्वतन्त्र उम्मेदवारका रुपमा उनका बुबा लालवीरले चुनाव जिते । समानुपातिकतर्फ थारु बहुल क्षेत्रमा राम्रै मत पाएको थियो । यद्यपि कुल सदर मतको ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन ।
प्रदेशसभामा भने सुदूरपश्चिममा नाउपा सत्ता समीकरणमा निर्णायक रह्यो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नाउपाको ७ सिट रह्यो र नाउपाले मत नदिएकै कारण एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री भएका राजेन्द्र रावल पदमुक्त भए । अहिले कांग्रेस–माओवादी गठबन्धनको सरकार छ, र नाउपा निर्णायक नै छ ।
यस्तै ८७ सदस्यीय प्रदेशसभा भएको लुम्बिनीमा ४ र १०७ सदस्यीय मधेश प्रदेशमा १ सिट छ ।
केन्द्रमा एमाले–माओवादी गठबन्धन हुँदा सरकारको समर्थक बनेको नाउपा अहिले कांग्रेस–माओवादी गठबन्धनमा सत्ता सहयात्री बनेको छ । नाउपा अध्यक्ष रञ्जिता आफैं १७ चैतमा भूमि व्यवस्थामन्त्री भएकी छन् ।
सत्ता सहयात्रासँगै रेशमको मुद्दाले पनि गति लियो । सरकारले रेशमको मुद्दा फिर्ता लिन मिल्ने गरी विधेयक ल्यायो । उक्त विधेयक संसदमा विचाराधीन रहेकै बेला सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन पुनरावेदनमा सुनुवाइ भयो र २ जेठमा उनको जन्मकैद सदर भयो । लक्ष्मण थारुको कैद उल्टी हुनुका साथै जन्मकैदको सजाय काटिरहेका सीताराम र गंगाराम चौधरीको सफाइ पाउँदा रेशमको हकमा उच्च अदालत, दिपायलको फैसला सदर भएको थियो ।
तर त्यसको दुई साता बित्न नपाउँदै सरकारको प्रस्तावमा राष्ट्रपतिले रेशमले बाँकी कैद सजाय माफी दिएका छन् ।