नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली भुटानी शरणार्थी नेता रिजाल पक्राउ

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन्।

नेता रिजाललाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए। उनी बिहीबार नै झापाबाट काठमाडौं आएका थिए। काठमाडौं पुगे लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस प्रकरणमा उनको कस्तो संलग्नता थियो भन्ने प्रहरीले खुलाएको छैन। उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताए।

नेता रिजालले लामो समयदेखि भुटानी शरणार्थीलाई स्वदेश फिर्ताका लागि पहल गर्दै आएका थिए। भुटानी शरणार्थीको अधिकारका लागि लड्दै आएका रिजाल पुनर्वास कार्यक्रम मार्फत विदेश गएका थिएनन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार नै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरिएको थियो। अहिलेसम्म यो प्रकरणमा पूर्व मन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी, उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे र इन्द्रजित राई सहित १६ जना पक्राउ परिसकेका छन्।

त्यस्तै, दुई जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। पक्राउ पुर्जी जारी गरिएको पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज राई फरार छन्।

गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो।

यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्‍याउन खोजेको हो। जसमा नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको छ।

यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा परेको छ। गृह मन्त्रालयले बनाएको कार्यदलको उद्देश्य नै नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश लैजाने देखिएको भन्दै प्रहरीले कार्यदलका सदस्यमाथि पनि अनुसन्धान गरिरहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *