पूर्व गृहमन्त्री खाण सहित १२ जनालाई हिरासतमा राख्न अन्तिम पटक म्याद थप

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण सहित १२ जनालाई हिरासतमा राख्ने अन्तिम पटक चार दिन म्याद थप गरिएको छ।

यस मुद्दामा पक्राउ परेका १२ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले जिल्ला अदालतमा पेश गरेको थियो। प्रहरीले अन्तिम पटकका लागि भन्दै हिरासतमा राख्न अनुमति मागेको थियो।

हिरासतमा राखेर अनुसन्धान गर्न चार दिन म्याद थप भएको जिल्ला सरकारी वकीलको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए। “पक्राउ परेका सबै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अन्तिम पटकका लागि म्याद थप भएको छ,” नेउपानेले भने।

पूर्व गृहमन्त्री खाण सहित १२ जनालाई वैशाख ३१ गतेदेखि लागू हुने गरी चार दिनका लागि म्याद थप भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए। अब उनीहरूलाई जेठ ३ गतेसम्म हिरासतमा राख्न पाइनेछ।

चार दिनभित्रै अनुसन्धान पूरा गर्ने प्रहरीको तयारी छ। अन्तिम पटक भनेर म्याद थपको अनुमति लिइएकाले अब अदालतमा मुद्दा दर्ता गरिनेछ।

यो प्रकरणमा पूर्व गृहमन्त्री खाण, उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई लगायत १२ जना पक्राउ परिसकेका छन्। त्यस्तै, पूर्व मन्त्री एवं नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझी र इन्द्रजितका छोरा निरज राई फरार छन्।

गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो।

यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्‍याउन खोजेको हो। जसमा नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको छ।

यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा परेको छ। गृह मन्त्रालयले बनाएको कार्यदलको उद्देश्य नै नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश लैजाने देखिएको भन्दै प्रहरीले कार्यदलका सदस्यमाथि पनि अनुसन्धान गरिरहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *