‘प्रहरी अनुसन्धानलाई ‘डिस्टर्ब’ नगर्ने सहमति छ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, शीर्ष तीन नेताबीच शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति भएको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार तीन दलका शीर्षनेताबीच छलफल भएको छ। छलफलमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत नेता सहभागी थिए।

शीर्षनेताको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणसँगै समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाएको छ। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले समसामयिक विषयमा छलफल भएको बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा के छलफल भयो भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भने, “यसमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, उसलाई कुनै ‘डिस्टर्ब’ गर्नुहुँदैन भन्नेमा हामी सबैको सहमति छ।”

यो प्रकरणसँगै अन्य संसद्का विषयमा छलफल भएको उनले बताए। “हामीले सदनलाई कसरी लैजाने भन्ने विषयमा छलफल गरेको हो। त्यो एउटै केसमा होइन,” दाहालले भने।

त्यस्तै, एमाले अध्यक्ष ओलीले संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रतिक्रिया दिए। शीर्षनेताको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले भने, “रमेशजीले भनेकै जस्तै हो, नयाँ केही छैन।”

बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीर्षनेताबीच संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए। “संसदीय समितिका सभापति चयन, टीआरसी, संवैधानिक परिषद्को विधकेय सम्बन्धी छलफल भएको छ,” लेखकले भने।

यससँगै बजेटको तयारी र नीति तथा कार्यक्रमका विषयमा पनि छलफल भएको उनले बताए। केही दिनमै सरकारले संसद्मा आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। अहिले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *