नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौँ । पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन्।

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा यसअघि १० जना पक्राउ परिसकेका छन्। यसअघि पक्राउ परेकामध्ये हाइप्रोफाइल व्यक्ति उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसँग जोडिएका पूर्व गृहमन्त्री खाण अनुसन्धानको घेरामा तानिएका हुन्। पूर्व गृहसचिव समेतका रहेका पाण्डेलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो।

पाण्डेको मोबाइलबाट समेत खाण यो प्रकरणमा प्रत्यक्ष जोडिएको ‘क्लू’ भेटिएको प्रहरीको दाबी छ। वाट्सएप मार्फत गिरोहका बिचौलियासँग कुराकानी गर्दा पाण्डेले मन्त्री खाणको नाम बारम्बार लिएको भेटिएको जनाइएको छ।

खाण गृहमन्त्री बनेको एक महीनापछि पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सचिवबाट गृह मन्त्रालयमा सरुवा भएका थिए।

८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो।

कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्‍याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ।

केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको आरोप छ। यसमध्ये दुलाल र शर्मा गिरोहका मुख्य योजनाकार भएको प्रहरीको दाबी छ। दाङ, कास्की, झापा र मोरङका पीडित बढी छन्।

बिचौलियासम्म सरकारी कागजात पुर्‍याउन पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र गृह प्रशासनको नेतृत्व गर्ने सचिवको भूमिका देखिएको प्रहरीको भनाइ छ। प्रहरीले यो अवधिमा गृहसचिव र गृहमन्त्री बनेका सबैलाई अनुसन्धानको दायरामा तानेको छ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *