किन बसे महावीर पुन माइतीघरमा धर्ना ?

काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै माइतीघर मण्डलमा धर्ना शुरू गरेका छन्।

अनुसन्धान, नवप्रर्वतन र आविष्कारमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने माग गर्दै पुन धर्नामा बसेका हुन्। उनले ‘अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोष’ मा रकम जम्मा गर्नुपर्ने माग गरेका छन्।

कोषको रकम सहज तरीकाले समयमै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन छुट्टै ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरीद ऐन’ बनाउन पनि उनले सरकारसँग माग गरेका छन्।

अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीतिनियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यकता अनुसारको नीतिनियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने पनि उनको माग छ।

निजी अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धनका लागि विज्ञान मन्त्रालय अन्तर्गत व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने पुनले माग गरेका छन्। “अर्थतन्त्र सुधार नै हाम्रो माग हो,” पुनले भने, “युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्छ।”

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई माग बुझाएका थिए। तत्काल माग सम्बोधन गर्नका लागि दबाब दिन धर्ना शुरू गरेको उनले बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *