यस्तो छ दुई करोड घूसका लागि रास्वपाका सांसद र दुर्गा प्रसाईंबीचको संवाद

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडिओ सार्वजनिक भएको छ।

रास्वपा सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री आफ्नो पार्टीको भागमा परेको र मन्त्री बन्न दुई करोड चाहिने व्यवसायी प्रसाईलाई सुनाएका छन्। मन्त्री बनेपछि सहयोग गर्ने भन्दै व्यवसायी प्रसाईसँग दुई करोड मागेको अडिओमा सुनिन्छ।

व्यवसायी प्रसाईले पनि दुई करोड दिने र मन्त्री भएपछि आफूलाई सहयोग गर्नुपर्ने बताएका छन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपा सहभागी हुन अघि माघ १ गते सांसद श्रेष्ठ र प्रसाईंबीच ह्वाट्स एपमा संवाद भएको देखिन्छ।

यो अडिओ बाहिर आएसँगै रास्वपाले सांसद श्रेष्ठमाथि छानबिन गर्न समिति गठन गरेको छ। सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए।

रास्वपा सांसद डा.ढाकाकुमार श्रेष्ठ र व्यवसायी प्रसाईबीच भएको संवादः

दुर्गा प्रसाई: नमस्ते के छ नि हालबखर?

ढाकाकुमार श्रेष्ठः ठिक छ नि सर, भरखर भरखर उठेको।

दुर्गा: अनि, राति मैले पनि फोन अफ गरेँ। सुत्ने टाइम भयो, चार्जमा राखेर सुतेँ। अनि नि, खास चै कुरा के हो? मलाई अलिकति भन्नु त डाक्साब?

ढाकाः स्वास्थ्य हामीले पाउने भयो। पार्टीलाई अलि सहयोग गर भनेर आन्तरिक कोर टिम छ, दुई-तीन जनाको। दुई-साढे दुई जति चाहियो भनिराथिए मलाई हिजो। मेरो पक्का चाहिँ पक्का भयो। आज मैले फिक्स गर्नु छ क्या सर। अनि आर्थिक रुपमा म त्यस्तो साह्रै छैन। मन्त्री नि बन्नु पर्‍यो। अनि धोइपखाली गरी यो स्वास्थ्य क्षेत्र पूरा सुधार पनि गर्नु छ। धेरै गर्छु भनेर सोच गर्‍याछु।

दुर्गा:  हजुर।

ढाकाः त्यसमा हजुरको सहयोग, सपोर्ट चाहियो भन्ने कुरा नि हो।

दुर्गां: मैले एउटा कुरा बुझ्न खोजेको, राष्ट्रिय स्वतन्त्र पार्टीमा डाक्टर भनेको तोषिमा कार्की मात्रै छिन् भनेर बुझ्या थिए त।

ढाकाः तीन जना छौं।

दुर्गाः को को हुनुहुन्छ?

ढाकाः म भएँ, तोषिमा भयो, अनि चन्दा कार्की।

दुर्गाः ए साच्चै, चन्दा म्याम पनि हुनुहुन्छ त।

ढाकाः चन्दालाई तपाईले पनि चिन्नुहुन्छ होला।

दुर्गाः हजुरको घर कहाँ हो डाक्साब?

ढाकाः मेरो पोखरा हो, सर।

दुर्गा: अनि एमबीबीएस कहाँ गरेको तपाईले?

ढाकाः चाइनमा।

दुर्गाः अनि एमडी?

ढाकाः अहिले मैले एमडी गर्‍या छैन, एमएस मात्रै हो।

दुर्गाः एमएस चाहिँ!

ढाकाः पछि पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ म।

दुर्गाः हेर्नुस है, धेरै ठूलो समस्या छ, स्वास्थ्यमा। देशमा भएका नर्सिङ कलेज सबै बन्द गराए। आज नर्स पढ्न पाउँदैनन्। मैले त जहिले भन्या छु नि, दुबईका डान्सबारमा हाम्रा चेलिबेटीले डान्स गर्नुभन्दा नर्स पठाऔं।

ढाकाः हो नि त, हो नि त।

दुर्गाः डाक्टर उत्पादन गरौं। बरु सहयोगमा एउटा मेडिकल कलेज खोलौं। इन्डियाबाट विद्यार्थी ल्याऔं, तीन सय चार सय।

ढाकाः धेरै राम्रो।

दुर्गाः हस्पिटल फ्रि गरौं। कति राम्रो कुरा गरेको मैले।

ढाकाः हो नि।

दुर्गाः डाक्साबको नाम ढकबहादुर के हो?

ढाकाः ढाकाकुरमा श्रेष्ठ।

दुर्गाः अछ्छा, मैले त्यो कुरा बुझेँ। तपाईसँग एउटा कुरा गर्न खोजेको। अहिले त ह्वाट्स एपमा छौं, मतलब भएन। मुकुलहरूले त नलिने भन्थे नि स्वास्थ्य र शिक्षा।

ढाकाः मुकुलजीलाई त थाहा छैन सर। यो कुरा आन्तरिक हो। मुकुल पनि त्यो कोर टिममा हुनुहुन्न के। पार्टीको कुराका गर्दा खेरी दुई-तीन जना छुट्टै हुनुहुन्छ के। पार्टीलाई धेरै सहयोग गर्ने, शुरूआति क्षणदेखि नै सहयोग गर्ने रविलाई। त्यो टिमबाट मलाई कुरा आएको हो। आज मैले फिक्स गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि।

दुर्गा: क्यास पैसा त आजको भोलि हुँदैन। अढाई करोड रुपैयाँको कुरा आयो।

ढाकाः अँ, दुई-साढे दुई भन्या छन्, अहिले एक दिए पनि मान्छन् होला। पछि चेक दिए पनि मान्छन्, दुई-तीन दिनपछि।

दुर्गाः आज बन्द छ नि। फेरि नौ लाख ९९ हजारभन्दा माथिको चेक साटिँदैन। एउटा टाइम राखेर गरिदियो भने म दिन्छु, म सहयोग गर्छु। तपाईले भनिहाल्नु भयो, भोलि मेरो नि काम गर्नुपर्छ।

ढाकाः त्यो त मैले गर्छु। यो दिक्क लाग्छ कि गोविन्द केसी देखेर। कहिले मर्छ जस्तो लाग्छ मलाई त। एमडी पढ्न नपाएको पनि तिनले गर्दा हो।

दुर्गाः एमडी पढ्न मैले मेरी छोरीलाई जापान पठाउनुपर्‍यो। टोकियो युनिभर्सिटी। तीन करोड तिरे एमडी गर्नलाई। यहाँ आफ्नोमा रेडिओलोजी पढाउन पाइनँ मैले।

ढाकाः त्यहि त, यो सबै बेथिति छ।

दुर्गाः  मेरो हेर्नुस् न, म कति मरेको छु। मेरो मेडिकल कलेज हेर्नुस् न। सबै भौतिक पूर्वाधार पुगेको, काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा ३२ लाख पुपुलेशन छ। म त डुबेको छु। म त मर्न मात्र बाँकी छ।

ढाकाः त्यहि त, यस्ता कुरालाई हटाउनुपर्छ सर। तपाईको यो पनि समस्या समाधान गर्नुपर्छ।

दुर्गा: अनि शिक्षा चाहिँ कसले लिने भयो सर?

ढाकाः शिक्षा हामीलाई परेन जस्तो छ।

दुर्गाः शिक्षा उता हजुर बुवाले राखेहोलान।

ढाकाः सायद राख्नुभयो होला, शिक्षा।

दुर्गाः किन भने यसपाली मलाई एफिलेशन पनि दिनुपर्नेछ, हजुरबुवाले। सबै कुरा सकिएको छ। काठमाडौं युनिभर्सिटीले एफिलिएशन दिएको छ, सिट मात्रै संख्या तोकिदिएन। त्यो त नारायणकाजीको मान्छे हो नि त्यो गिरी। त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो के त्यो।

ढाकाः ए, हजुर, हजुर।

दुर्गाः ल यसो गर्नुस् न त।

ढाकाः हजुर निश्चिन्त हुनुस्। अब काम मिलेर गर्नुपर्छ, तपाई र म।

दुर्गाः भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ, २ गते। आज त छुट्टी भइगो। म भोलि बेलुका हजुरबुवासँगै काठमाडौं आउँछु। तपाई र म भेटौंला। तपाई उसको ग्यारेन्टी गर्नुस्, तपाई गर्ने सहयोग गर्छु। तपाईले जुन भन्नुभो नि दुई, आएर गरौंला।

ढाकाः अँ।

दुर्गाः तर, अलिकति टाइम लाग्छ। पैसा मिलाएर निकाल्नुपर्छ। त्यतिक्कै निस्किँदैन हचुवामा। अहिले त ब्यांकले जम्मै सिस्टम खोज्छ, त्यति सजिलो हुँदैन। बाकसमा पैसा लिन गाह्रो छ।

ढाकाः अँ।

दुर्गाः कुरा बुझ्नु भो के। त्यो त कसैले पनि दिन सक्दैन। नेपालमा कसैले सक्तैन।

ढाकाः त्यहि त।

दुर्गाः अनि फेरि हिजो पुस मसान्त। हिजो ब्यांकको ब्याज बुझाइयो।

ढाकाः अँ, हजुरलाई नि साह्रै गाह्रो छ होला, है विचरा।

दुर्गाः गाह्रो छ नि। हिजो पुस मसान्त ब्याज बुझाए। मेरो स्वास्थ्य बिमाको १४-१५ करोड पैसा अझै देको छैन, स्वास्थ्य बिमाले अढाइ वर्षदेखि।

ढाकाः  बिमा पनि नेपालमा १२ अर्बको लगानी हुनेरहेछ।

दुर्गाः हो त नि।

ढाकाः बिमा नीति नि लागू गर्नुपर्नेछ।

दुर्गाः त्यो त कसरी लागू गर्ने म तपाईलाई भनिदिन्छु। तपाईले एउटा के ग्यारेन्टी गर्नुस् भने दुई करोड रुपैयाँ पैसा मैले दिने भए तपाईलाई। यो पैसा पनि तपाईले रविलाई त बुझाउनु पर्ला नि हैन?

ढाकाः अँ। मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नु भएको छैन। दुई-तीन जना साथीहरू हुनुहुन्छ। उहाँलाई दिने, पार्टीलाई जान्छ भन्या छन् केरे।

दुर्गा: यो सबै कमाउने त हुन्।

ढाकाः कसरी गर्छन् थाहा छैन। पार्टीमा जान्छ कि जान्न, त्यो पनि मलाई थाहा छैन। मैले सोधेकै छैन।

दुर्गाः अँ।

ढाकाः पार्टी कमजोर छ। अहिले शुरूआति क्षण छ। साह्रै गाह्रो भाछ त भन्या छन्।

दुर्गाः ए, ल सर ठिकै छ। म भोलि बेलुका वा पर्सि आउँछु, अनि दाजुभाइ भेटौलान् त। तपाईले ग्यारेन्टी गर्नुस् दिन्छु भनेर। तर, मलाई अलिकति टाइम चाहियो भन्नुस्।

ढाकाः  अँ।

दुर्गाः है।

ढाकाः  हुन्छ, म त्यहि कुरा गर्छु सर ल।

दुर्गाः ल, ल।

ढाकाः अनि त भोलि आउनुहुन्छ, बेलुका?

दुर्गाः हजुरबुवा आउने भएर बस्नुपर्‍यो कि।

ढाकाः अँ।

दुर्गाः म भोलि आउँछु। है डाक्साब।

ढाकाः हस सर। तपाई र म सबै सल्लाहले काम गर्नुपर्छ।

दुर्गाः तपाईलाई मैले एउटा कुरा के ग्यारेन्ट गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईलाई म सजिलो बाटो देखाइँदिन्छु। त्यसमा पीर नगर्नुस्, उनीहरूसँग टाइम माग्नुस्। ल म दिन्छु भनेर भन्नुस्, सक्यिो कुरा।

ढाकाः अँ।

दुर्गाः तपाई र म एक ठाउँमा भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा, गोविन्द केसी के भिडेको छ। तपाईलाई म आईडिया दिन्छु, दुई करोड म दिन्छु। तपाई पीर नगर्नुस्, तपाई अघि बढ्नुस्। अब तोषिमाले फेरि लडाइ त गर्दिनन् नि?

ढाकाः गर्दिनन्, गर्दिनन्। टिमले गरेपछि सक्कियो। रवि सरलाई म्यान्डेट दिएका छौं।

दुर्गाः अँ।

ढाकाः उहाँले जसलाई राख्नुभो, राख्नुभो।

दुर्गां: फेरि यस्तो भयो नि त। तोषिमाले पैसा निकाल्न नि सक्दिनन्। किन भने नि गोविन्द केसीको मान्छे भन्याछ, कहिँ केही कुरा गर्न मिल्दैन। ऊसँग डराउँछन्।

ढाकाः तिनी मन्त्री भइन भने काम पनि छैन।

दुर्गाः काम छैन। हस भाइ, हस डाक्साब, हस।

ढाकाः हस सर, नमस्कार।

दुर्गाः लौ नमस्ते।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *