‘गृहमन्त्री पाए रास्वपाले भन्छ- दाइ कति राम्रो, भाउजू पनि कति राम्रो!’ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै कांग्रेस छोडेर गएका अर्थशास्त्री स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चर्को आलोचना गरेका छन्।

सोमबार तनहुँमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले वाग्लेलाई विदेशमा जागिर खाएर आएजस्तो आफूहरू नभएको बताए।

रास्वपा सभापति लामिछानेप्रति लक्षित गर्दै थापाले उक्त पार्टीको सैद्धान्तिक विषयमा प्रश्न उठाए। मंसिर ४ को चुनावपछि रास्वपाले सत्ताका लागि गरेका निर्णयहरूले विभिन्न प्रश्न उब्जिएको तर ती प्रश्न अनुत्तरित रहेको उनले बताए।

पार्टीमा आफूहरूले कुनै पदका लागि लोभ नगरी संघर्ष गरिरहेको उनको भनाइ थियो । पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेललगायतले मुखैमा आएको मन्त्री पदको लोभ नगरी आफूलाई संसदीय दलको चुनावमा सघाएको थापाले बताए ।

‘झापाबाट निर्वाचित भएर आएको विश्वप्रकाश शर्मा गगन थापाको प्रस्तावक बस्दै गर्दा समर्थक बस्दै गर्दा निर्वाचन हार्ने गगन थापाको प्रस्ताव बस्दै गर्दा ५ वर्ष मन्त्री बन्न पाउँदिनँ भन्ने विश्वप्रकाश शर्मालाई थाहा थिएन । तपाईंको तनहुँको प्रदीप पौडेल काठमाडौं गएर निर्वाचित भएको छ, गगन थापाको समर्थक बन्दै गर्दा मुखमै आएको नयाँ बन्ने सरकारको मन्त्री हुनबाट म वञ्चित हुन सक्छु भन्ने के उसलाई थाहा थिएन । थाहा थियो त तर म पनि चुनाव लडेँ विश्वप्रकाश प्रदीप पौडेललगायतका साथीहरू मेरो वरिपरि उभिनुभयो किन ? पार्टी हो यो पार्टीभित्र हामी एक छौँ पार्टीभित्र बाँधिएका छौँ । पार्टीभित्र संघर्ष गरिरहेका छौं । पार्टीभित्र लडिरहेका छौं । पार्टीभित्रको निरन्तरको संघर्षबाट यहीँभित्र बदलाव ल्याउँछौँ । परिणाम ल्याउँछौँ । एउटा सांसद बन्ने कुरा वा मन्त्री बन्ने कुरा म बन्ने कुरा मबाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको नेताको चुनाव लड्न म जान्नँ थेँ । मेरो प्रस्तावकमा विश्वप्रकाश शर्मा आउँदैनथे । मेरो समर्थक बस्न प्रदीप पौडेल आउँदैनथे,’ थापाले भने ।

भर्खरै कांग्रेस परित्याग गरेर रास्वपाबाट तनहुँ-१ का उम्मेदवार बनेका स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै महामन्त्री थापाले आफू स्वेदशमै बसेर पार्टीभित्र लडेर बसेको पनि बताए । आफू त विदेश नगई, जागिर नखाई राजनीतिक परिवर्तनका लागि लागेको उनको भनाइ थियो ।

कांग्रेसका युवा पुस्तालाई नअल्मलिन आग्रह गर्दै उनले भने, ‘देशभरिका खासगरी तमाम तन्नेरी साथीहरूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसको युवा साथीहरूलाई आग्रह गर्न चाहन्छु कोही अलमलमा नपर्नुस् कोही भ्रममा नपर्नुस् । यहाँ विषय पार्टीको नेताको होइन । यहाँ विषय तपाईंको हो । यहाँ विषय मेरो हो । यहाँ विषय हाम्रो लडाइँको हो । कहिलेकाहीँ साथीहरूले के भन्नुहुन्छ भने हामीहरू बाहिरबाट धेरै पढेर आएको । मेरो बा र आमा सोलुखुम्बुको पहाडबाट सुख खोज्दै काठमाडौं आउनु भएको हो । आमाले पढ्न पाउनु भएन । बाले पढ्नुभयो । हामीलाई पढाउनुभयो । साथीहरू यतिवर्ष विदेशमा पढेर आएको विदेशमा बसेर यो गरेर आएको मैले यतिको जागिर छाडेर आएको भन्नुहुन्छ । ती साथीहरूलाई मलाई भन्न मन लाग्छ, मैले त जागिर नखाएको । तिमीले त खाएर छाडेर आएको । मलाई त भन्न मन लाग्छ, तिमीले त जागिर खाएर, घर बनाएर, पेन्सन पकाएर अनि आएको हो । ‘

थापाले आफू त्यो बेलामा सडकको लडाइँमा संलग्न भएको बताए । उनले अगाडि भने, ‘म त त्यो बेलामा सडकमा लडेर बसेको हो । छातीमा ढुंगा खाएर बसेको हो । जान नसक्ने भएर होइन । जाने क्षमता नभएर होइन । तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन । तर मलाई यहाँ बस्यौ भन्नेमा तिमीले प्रश्न गर्‍यौ भने तिमी किन गयौ भनेर मैले पनि प्रश्न गर्छु ।’

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *