हेपाइ सहन नसकेर कांग्रेसबाट अलग्गिए स्वर्णिम

काठमाडौं। नेपाली कांग्रेसभित्र गिरोहको दवदवा सहन नसकेर अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

वाग्लेले आफूले ५० बर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको कुरा सार्वजनिक गरेका छन्। यसअघि उनले कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अरु नेताद्वय डाक्टर शेखर कोइराला र डाक्टर गोविन्दराज पोखरेलको मोबाइलमा मार्मिक सन्देश पठाउँदै ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले कांग्रेसमा बस्न सकिन’ भनेका थिए।

वाग्लेले आज आफ्नो फेसबुकमा विशेष स्ट्याटस लेख्दै कांग्रेस परित्याग गरेको कुरा विस्तारमा प्रष्ट पारेका थिए।

कांग्रेस पार्टी परित्याग गर्नुको कारण खुलाउँदै वाग्लेले लेखेको स्टाटस:

नेपाली काँग्रेसबाट अलग भएको घोषणा

२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक/सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस/कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *